Kathmandu Press

समुदायस्तरमा कोरोना परीक्षण गर्न ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ।

इ....

समुदायस्तरमा कोरोना परीक्षण गर्न ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले  विश्वस्वास्थ्य संगठनको सहयोगमा कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो।   महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड– १९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए।  

यसअघि महाशाखाले काठमाडौं उपत्यकामा कोभिड– १९ को संक्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजार जनामा पीसीआर परीक्षण गरेको थियो। ‘सेरो सर्वेक्षण’  रगतबाट गरिने परीक्षण भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना संकलन गर्नेछ। 

पीसीआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ। ‘सेरो सर्वेक्षण’ ले कोभिड– १९ को संक्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ। ‘तत्काल समुदायमा कोभिड– १९ को संक्रमण कस्तो रहेको छ भनेर पीसीआर परीक्षण गरिन्छ,’ उनले भने, ‘महामारीका रुपमा फैलिएको कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो।’ 

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ। नेपालमा कोभिड– १९ का ९७ प्रतिशत संक्रमित विनालक्षणका छन्। 

‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका संक्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना संकलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताए। ‘कोभिड– १९ को संक्रमणबाट कति मानिस आफैँ नै सञ्चो भएका छन्। उनीहरुमा संक्रमण भए/नभएको हामीलाई थाहा छैन,’ उनले भने, ‘त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेबाट थाहा हुनेछ।’ 

कोभिड– १९ को भाइरस संक्रमण भएको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न गर्दछ। सेरो सर्भेलेन्सबाट कोभिड– १९ को संक्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ। ‘मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ। मानिस कुनै भाइरसबाट संक्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्दछ,’ उनले भने, ‘त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो।’ उनका अनुसार चाँडै नै संक्रमण प्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ।

नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५७० जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा संक्रमण देखिएको छ। यस्तै ११ हजार ६९५ जना संक्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: १६:२० बजे, सोमबार, साउन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्