हराएको १५० दिनपछि मानव कंकाल सार्वजनिक
सुर्खेत, साउन ५ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको कंकाल स....
सुर्खेत, साउन ५ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको कंकाल सार्वजनिक गरेको छ।
हराएको करिब १५० दिनपछि रानाको कंकाल प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। रानाको पत्नी मनरुपा रानाले गत फागुनमा हराएका उनलाई बेपत्ता पारिएको भनी असार १६ गते सोही वडाका ३१ वर्षीय यामबहादुर सम्सेली र ३० वर्षीय सूर्यबहादुर वलीविरुद्ध प्रहरीमा किटानी जाहेरीदिएकी थिइन्। जाहेरीपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
अनुसन्धानको क्रममा जिप्रका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको टोलीले गत असार ३१ गते ठाकुरबाबा नगरपालिका–१ बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडे खोलामा रानाको कंकाल फेला पारेको थियो। उक्त कंकाल शिवरामकै हो भनी मृतककी पत्नी मनरुपा राना र बुबाले सनाखत गरेपछि यही साउन २ गते उनीहरु विरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि त्यहीअनुरुप अनुसन्धानको कारवाही अगाडि बढेको छ।
प्रहरीले बर्दिया राष्ट्रिय निकुञ्जस्थित पाँडेखोलाबाट प्रहरीले एक नाले भरुवा बन्दुक दुई थान, मृतक शिवरामको टाउकाको खप्पर मानव कंकाल, एक थान खुट्टाको हड्डी, दुई थान हातको हड्डी, एक थान कलो सल्याक्स, खैरो कालो रङको एक थान झोला फेला पारेको थियो। यसैगरी झौलाभित्र रहेको चार डिब्बा गन पाउडर, पानीले भिजेर डल्लो परेको चार बट्टा सलाई, फलामको हँसिया, खुकुरी र स्टिलको थाली एकएक थान, फलामका स–साना टुक्रा र नेपाली सेनाले प्रयोग गर्ने कलरको एक थान कम्ब्याट जाकेट बरामद गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ।
करिब पाँच महिनादेखि बेपत्ता रहेका शिवरामको सनाखतपश्चात् कर्तव्य ज्यान मुद्दा लगाइएका दुवै अभियुक्तको मृतकको कंकालको डिएनए परीक्षण गरिने प्रहरी कार्यालयले जनाएको छ।