एक हजार ऋण तिर्न नसक्दा युवकको अपहरण गरी हत्या
सिरहा, साउन ५ : सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–१ का ....

सिरहा, साउन ५ : सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–१ का २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–२ का मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो।
केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो। तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको शव रामको रहेको शुक्रबार मात्रै पहिचान भएको थियो।
गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारजनले कतै उनको हत्या त भएको छैन ? भन्ने आशंका गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जानकारी दिए।
लागुऔषध मुद्दामा जेलमा बसेका बेला साथीसँग लिएको सापटीबापतको एक हजार रुपैयाँ समयमा फिर्ता नगर्दा आफ्नो छोराले ज्यान गुमाएको उनका पिता सिफैत रामले बताए। लकडाउनको समयमा रोशन लागुऔषधसहित वैशाखको अन्तिम साता लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए। पक्राउ परेको समयमा उनलाई इलाका प्रहरी कार्यालय लहानको थुनामा राखिएको थियो।
जेठको अन्तिम साता उनलाई जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको तर रकम नहुँदा जेलमै गएका थिए। जेलमा रामको भेट लागुऔषध मुद्दामै कारागारमा रहेका मिर्चैया नगरपालिका–२ निवासी जयकुमार यादवसँग चिनजान भएको र कारागारमै यादवसँग रामले एक हजार रुपैयाँ ऋण लिएका थिए। उक्त रकम समयमा फिर्ता नदिएकाले आफ्नो छोराको हत्या भएको मृतकका पिता सिफैतको भनाई छ।











