सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको छैन : महासंघ
काठमाडौं, साउन ४ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ। महासंघ....

काठमाडौं, साउन ४ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ। महासंघले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो।
सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर संगठन नियमित विभागसँग छलफल गरिरहेका छन्। मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
केही दिन पहिले मात्रै काठमाडौं उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुनका लागि साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो। उउनले भने, 'सार्वजनिक सवारीसाधनबाट संक्रमण नफैलियोस् भनेर तयारी गरेर मात्रै चलाउने गरी हामी नियमित छलफलमा छौं।'
कोभिड–१९ को संक्रमण फैलिएको समयमा सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासंघले बताउँदै आएको छ। कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको उनको भनाइ छ।
मजदूरको स्वास्थ्य बीमा, कुनकुन ठाउँबाट यात्रु चढ्ने, हात धुने ठाउँको व्यवस्थालगायतका विषयमा बृहत् तयारी गरिरहेको उनको भनाइ छ। उनले भने, 'सार्वजनिक सवारीसाधन सञ्चालन कसरी हुनेछ भनी हामी चाँडोभन्दा चाँडो पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछौं।' काठमाडौं उपत्यकामा साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले भने थोरै संख्यामा बस सञ्चालन गर्न थालेका छन्।











