निगमले चिनियाँ जहाजको व्यावसायिक उडान नगर्ने
काठमाडौं, साउन ४ : चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको ....

काठमाडौं, साउन ४ : चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको छ।
आन्तरिक उडानका लागि चीनबाट ल्याइएका ६ वटा जहाजबाट हालसम्म कुनै मुनाफा आर्जन गर्न नसकेको भन्दै निगमले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
निगमलाई चीन सरकारको सहयोग प्राप्त भएका दुई (एमए ६० र वाई १२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका (चार एम ए–६० र तीन वाई–१२) जहाज गरी ६ वटा जहाज निगमसँग रहेका छन्।
चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको, जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफैँ उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस ३२० को भन्दा महंगो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो।
यी जहाजका स्पेयर पार्टससमेत समान क्षमताका अन्य जहाजभन्दा करिब ७५ महंगो रहेको, अर्डडर गरेको दुई महिनमा मात्रै मर्मत हुने बाध्यताले गर्दा पनि जहाज नचलाउने निर्णय लिइएको निगमका एक सञ्चालक समिति सदस्यले जानकारी दिए। स्टल रुटमा प्रस्तावित जहाजमा २५ प्रतिशतदेखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहेको, जहाजका पाइलटको खर्च समान जहाजको तुलनामा चार गुणा बढी हुन आएकाले निगमले वित्तीय भार बेहोर्दै आएको जनाएको छ। एमए–६० जहाजको सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी रहेको, इन्धन खर्च अन्य जहाजको भन्दा दोब्बर भएकाले निगमलाई व्यावसायिक लाभभन्दा पनि आर्थिक बोझ थुप्रिएको निगमले उल्लेख गरेको छ।











