एक सातामा कोरोनाबाट विदेशमा रहेका थप १६ नेपालीको निधन
काठमाडौं, साउन ४ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट विदेशमा यस साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ, ....

काठमाडौं, साउन ४ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट विदेशमा यस साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो।
कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना संक्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ। शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना संक्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।
संघका अनुसार जम्मा कोराना संक्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली सबै कोरोनामुक्त भएका छन्। साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको संक्रमण नरोकिएको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ संक्रमित नेपालीमध्ये २८ हजार ६८१ जना संक्रमणमुक्त भएको संघको तथ्यांक छ। यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना संक्रमण देखिएको समितिले जनाएको छ।











