रतनपुरमा नारायणी नदीको तीव्र कटान
नवलपुर, साउन ४ : नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ। नदीको कटानले यस क्षेत्रका बस्ती ड....

नवलपुर, साउन ४ : नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ। नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा परेको छ।
केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ। कटानका कारण रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायत गाउँ डुबानको जोखिममा परेका छन्। कटान तीव्र बनेपछि संघबाट ३० लाख रुपैयाँ, प्रेदशबाट २० लाख रुपैयाँ र मध्यविन्दु नगरपालिकाबाट १५ लाख रुपैयाँ गरी जम्मा ६५ लाख रुपैयाँ विनियोजन गरी नियन्त्रणको काम थालिएको नारायणी नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताए।
विनियोजित रकमले तत्कालको कटान नियन्त्रणका लागि काम थालिएको उनले जानकारी दिए। यस क्षेत्रमा ठूला ढुंगाहरु राख्ने काम भइरहेको छ। जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढुंगाहरु नदी किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको उनले जानकारी दिए।
कटान क्षेत्रको निरीक्षण गर्दै संघीय सांसद तिलक महतले नदी नियन्त्रणको दीर्घकालीन उपायको खोजी गरिने बताए। 'हाल तत्काल ठूलो क्षति नहोस् भनेर बजेट विनियोजन गरिएको छ,' उनले भने, 'आवश्यकताअनुसार नदी नियन्त्रणका लागि थप बजेट विनियोजन गरिनेछ।'
बाढीले नवलपुरका धेरै खेतीयोग्य जमीन बगर बन्दै गएको छ। नदीपारि कङ्क्रिटको बगर बनेको छ। यसले गर्दा नदी नवलपुरतर्फ सर्ने क्रम क्रमशः बढेको छ। नदीलाई साबिकै क्षेत्रबाट बग्ने बनाउन दुर्गीठोरमा करीब तीन किलोमिटर ‘च्यानलाइज’ गर्नुपर्ने नदी नियन्त्रण समितिका अध्यक्ष न्यौपानेले बताए। 'नदी नियन्त्रणको नाममा बर्सेनी करोडौँ रकम लगाइएको छ, तर उचित ठाउँमा लगाइएको छैन,' उनले भने, 'अमलटारीबाट नदीलाई साबिककै बहाव क्षेत्रमा मोड्न एकत्रित लगानी गर्ने हो भने सबै समस्याको समाधान हुन्छ।'











