महत नेतृत्वको अनुगमन समितिले गर्यो वैदेशिक रोजगार व्यवसायीसँग छलफल
काठमाडाैं, साउन २ : कोरोनापछि उत्पन्न परिस्थितिको मूल्यांकन गर्न गठित नेपाली कांग्रेसको अनुगमन समितिले वैदेशिक रोजगार व्यवसायी र महिला उद्यमीसँग....

काठमाडाैं, साउन २ : कोरोनापछि उत्पन्न परिस्थितिको मूल्यांकन गर्न गठित नेपाली कांग्रेसको अनुगमन समितिले वैदेशिक रोजगार व्यवसायी र महिला उद्यमीसँग छुट्टाछुट्टै छलफल गरेको छ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार भएको छलफलमा सहभागीहरुले वैदेशिक रोजगार व्यवसायीले कोरोनाले निम्त्याएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारीमा गएका श्रमिक र उनीहरूलाई सहजीकरण गर्ने व्यवसायी दुवैले गम्भीर चुनौती खेपिरहेको बताएका छन्। उनीहरूले वैदेशिक रोजगारी प्रभावित भएका कारण आगामी दिनमा बेरोजगारीको समस्या विकराल बन्ने पनि बताएका छन्।
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई सुरक्षा र संरक्षण दिने तथा व्यवसायीहरूलाई सहज वातावरण उपलब्ध गराउनु पर्ने व्यवसायीले माग पनि गरेका थिए।
कार्यक्रममा अनुगमन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वैदेशिक रोजगारीमा गएका श्रमिक र व्यवसायीले भोगिरहेका समस्याबारे अनुगमन समितिले सरकारको ध्यानाकर्षण गराउने बताएका थिए।
कोभिड १९ कै कारण रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त गरेका १ लाख १५ हजार कामदार विदेश जान पाएका छैनन्। यसबाहेक पूर्वस्वीकृति लिई सकेका ३ लाख २८ हजार ६ सय ८१ जना पनि अड्किरहेका छन्। यसरी वैदेशिक रोजगारी ठप्प हुँदा व्यवसायीहरू जोखिम पूर्ण अवस्थामा रहेकाले सरकारले सहज वातावरण बनाइ दिनुपर्ने माग उनीहरूको छ।
रोजगार व्यवसायी कानून अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न न्यूनतम नगद ५० लाख रुपैयाँ नगद धरौटी राख्नुपर्ने र न्यूनतम १ करोड ५० लाख बैँक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ। व्यवसायीहरुले धरौटी राखेको ५० लाख रुपैयाँ फिर्ता भएमा व्यवसाय टिकाउन सहयोग पुग्ने धारणा राखेका थिए।
यस्तै, महिला उद्यमीहरुले कोरोनाको कारण व्यवसाय नराम्ररी प्रभावित भएको र बैँकको व्याज तिर्न नसकेर महिलाहरू गम्भीर मानसिक समस्यामा परेकाले सहयोगका लागि सरकारसँग माग गरिदिन आग्रह गरेका थिए।











