लिम्पियाधुरासहितको नयाँ नक्साबारे पुस्तक प्रकाशन गर्ने तयारी
काठमाडौं, साउन २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराको भू-भाग समेटिएको नक्सा र समग्र सीमासँग सम्ब....

काठमाडौं, साउन २ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुराको भू-भाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धित विषय समेटेर पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको बताएकी छिन्।
शुक्रबार मन्त्रालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको जानकारी दिएकी हुन्।
'कालापानी, लिम्पियाधुरासम्म भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छाैँ,'उनले भनिन्।
मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ति जमर्को गरिरहेको भन्दै उनले एकपछि अर्को गर्दै विगतमा भन्दा सिर्जनशील, प्रगतिशील र मौलिक ढंगले अगाडि बढ्ने प्रयत्नमा रहेको बताइन्। 'यहाँहरुले देख्नु भएकै छ एकपछि अर्को गर्दै नयाँ खालका काम हामीले बाहिर पनि ल्याएका छौँ। यसको रिजल्ट आइसकेको पनि छ,' उनले भनिन्।
राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन्।




-1792226847.jpeg)






