धरहरा पुनःनिर्माणमा खटिएका कामदार क्वारेन्टाइनमा
काठमाडौं, असार ३१ : धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।
सरकारले गत चैत ११ गतेदेखि....

काठमाडौं, असार ३१ : धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको छ।
सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए। रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो। ल्याइएका ७० कामदारलाई क्वारेन्टाइनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।
कोरोना संक्रमण जोखिमको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टाइनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए। अहिले उनीहरुको परीक्षणको लागि नमूना संकलन भइरहेको छ। परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए। उनले भने, 'अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन्। हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ।'
भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ। निर्माणको लागि तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ। पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट हुनेछ। एउटा परम्परागत भर्याङ रहनेछ। लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ।
कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।
शुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए।











