नेपालमा अपहरित युवक भारतबाट १७ दिनपछि मुक्त
महोत्तरी, चैत ८ : १७ दिन अघि महोत्तरीको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका युवक भारतको बिहारबाट अपहरणमुक्त भएका छन् । भारतीय प्रहरीको सहयोगमा ....
महोत्तरी, चैत ८ : १७ दिन अघि महोत्तरीको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका युवक भारतको बिहारबाट अपहरणमुक्त भएका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले अहरणमुक्त गरेको हो।
गौशाला नगरपालिका–८ का २९ वर्षीय सुरेश साह फागुन १९ गते गौशालाबाट अपहरणमा परेका थिए । उनलाई बिहीबार बिहारबाट अपहरणमुक्त गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
सुरेशकी आमा देवसुनर देवीले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यही दिनदेखि प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास थालेको थियो।
सुरेश अपहरणमा परेपछि उनका भिनाजु अमरनाथ महतोलाई भारतीय नम्बरको मोबाइलबाट फोन आउन थालेको थियो । भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट फिरौती रकम लिएर आउन अपहरणकारीले फोन गर्न थालेका थिए । भारतीय प्रहरीको सहयोगमा त्यही मोबाइललाई पछ्याउँदै जाँदा बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट अपहरणमुक्त गरिएको खड्काले बताए।
अहपरणमा संलग्न रहेको आरोपमा बाराको कलैया नगरपालिका–१२ रामपुरका ५२ वर्षीय मुन्ना भनिने सुरज चौधरी र काशी साहलाई पक्राउ गरिएको छ । उनीहरूसँग रहेको कटुवा पेस्तोल र त्यसमा लाग्ने ५.५६ एमएमको चारवटा गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई भारतीय प्रहरीले नै कारवाही प्रक्रिया अघि बढाएको छ । अपहरणमा परेका सुरेशलाई नेपाल ल्याइएको छ।