एक महिनामा बाढीपहिरोमा परी ८५ जनाको मृत्यु, ४६ बेपत्ता
काठमाडाैं, असार २९ : बाढीपहिरोमा परेर एक महिनाको अवधिमा ८५ जनाको मृत्यु भएको छ। अन्य ४६ जना बेपत्ता भएका छन्।
सोमबार बसेको र....

काठमाडाैं, असार २९ : बाढीपहिरोमा परेर एक महिनाको अवधिमा ८५ जनाको मृत्यु भएको छ। अन्य ४६ जना बेपत्ता भएका छन्।
सोमबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने मनसुन सुरु भएपछिको एक महिनाको अवधिमा बाढी र पहिरोमा परी अहिलेसम्म ८५ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। उनका अनुसार बाढी र पहिरोका कारण १३४ घर पूर्णक्षति पुगेकाे छ।
गृह मन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ। बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिइएको छ।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अति जोखिममा रहेको जानकारी दिए।
बाढी पहिरोका जोखिमलाई दृष्टिगत गरी विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाउँदै मन्त्रालयले विभिन्न स्थानमा राहत र उद्धार सामान व्यवस्थापन गोदाम र मानवीय सहायता केन्द्र स्थापना गरेको जनाएको छ।
बाढी पहिरोबाट हालसम्म पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहुँ र सखुवासभा जिल्लामा जनधन को क्षति भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ८० करोड रकम मौज्दात रहेको उनले जानकारी दिए।











