गाउँभरि पहिरो, मृत्यु भएका १० जनाको विद्यालयमै किरिया
जाजरकोट, असार २९ : जाजरकोटको बारेकोट गाउँपालिका–४ मा पहिरोले दुई गाउँ बगाएपछि स्थानीय वासिन्दा विद्यालयमा बसिरहेका छन्। उनीहरुले विद्यालयमै किरि....

जाजरकोट, असार २९ : जाजरकोटको बारेकोट गाउँपालिका–४ मा पहिरोले दुई गाउँ बगाएपछि स्थानीय वासिन्दा विद्यालयमा बसिरहेका छन्। उनीहरुले विद्यालयमै किरिया गरिरहेका छन्।
पहिरोले दुई घर बगाउँदा ११ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। घर बाहिर रहेका तीन जनाको ज्यान जोगिएको छ।
गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो।
शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हालसम्म ११ जनाको मात्र शव फेला परेको छ। बिरामी छिमेकीलाई भेट्न भएका तुले सार्की र उनका छोरा १४ वर्षीय रमेश कुम्दस्थित गोठमा गएका कारण बाँच्न सफल भएका हुन्।
६ जनाको परिवार रहेको तुलेले पत्नी कलु, छोरी तिर्खा, कमला र कान्छो छोरा सुभासलाई गुमाएका छन्। अर्को घरका गोपाल सार्कीका छोरा १३ वर्षीय पवनको मामाघर सुवाकोट गएका कारण ज्यान जोगिएको छ। पवनले बाबा गोपाल, आमा पुष्पा, बैनी लक्ष्मी र भाइ अर्जुनलाई गुमाएका छन्।
त्यस्तै कलुका घरमा पाहुना आएकाले कुशे गाउँपालिका–९ चौताराका तीन भाइबहिनीले समेत पहिरोमा परी ज्यान गुमाएका छन्। आफन्त गुमाएकाहरू विद्यालयमा शरण लिएर बसेका छन्। विद्यालयमै काजकिरिया शुरु भएको छ।
विस्थापित पाल र विद्यालयमा
बाँचेका सबै स्थानीय विद्यालयमा बस्दै आएका छन्। सार्कीगाउँका मात्र ३२ घर विस्थापित भएको छ। बोहोराटोलमा १९ घर विस्थापित भएको छ। अन्य सबै वडा ५, १ लगायतका ठाउँमा गरी पाँच सयभन्दा बढी घरधुरी विस्थापित भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए।
विस्थापित सार्की परिवारले जग्गा र अस्थायी घर निर्माण गर्न राज्यले सहयोग गर्नुपर्ने बताएका छन्। अहिले अस्थायीरुपमा ज्यान जोगाउन विद्यालयमा बसेका सर्वसाधारणले विकल्प दिन सरकारसँग माग गरेका छन्। विस्थापित लोकेन्द्र बोहोरा भने, “चिराचिरा परेको जमीन भत्किएको घर टाढैबाट हेरेर चित बुझाउँछौँ। केही मकै छ हामीसँग तर पिस्नका लागि घट्ट सबै खोलाले बगाउँदा समस्या भएको छ। स्थानीय बजारमा चामल छैन कसरी बाँच्ने?”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी नायकबाडा बारेकोटमा चामल छैन। जनता आवास कार्यक्रम लागू गर्न सर्वसाधारणको माग छ।
विद्यालयमै किरिया
पहिरोमा वेपत्ता भएका १२ मध्ये १० जनाको शव जलाएर विद्यालयमा नै काजकिरियाको काम शुरु भएको छ। आज भेटिएका कमला सार्कीको दाहसंस्कार भए पनि लक्ष्मी सार्कीको दाहसंस्कार हुन बाँकी छ। पहिरो तथा खोला बढ्दा एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको स्थानीय शिक्षक तीर्थराज बोहोराले बताए।
त्यस्तै बारेकोट–६ धुमामा बेपत्ता दुई जनाको शव अझै फेला पर्न सकेको छैन। जुनिचाँदे–११ का डिल्ली चदारासमेत अझै फेला पर्न सकेका छैनन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले हराएकाको खोजीकार्य जारी राखेका छन् ।
बारेकोट गाउँपालिकाले मृतकका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ। एकै घरका धेरै मृत्यु भएपछि आफन्तलाई पीडा खेप्न समस्या भएको छ।
विस्थापितले तुरुन्तै राहत र पुनःस्थापना गर्न माग गरेका छन्। एकै ठाउँमा दर्जनौँ मानिस बसिरहेकाले व्यवस्थापनमा समस्या भएको छ।(रासस)




-1792226847.jpeg)






-1792226847.jpeg)