छाङरु र तिंकरमा खाद्यान्न अभाव, चामल २५० रुपैयाँ किलो
दार्चुला, असार २९ : लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएपछि दार्चुलाको छाङरु र तिंकरका वासिन्दालाई लागेको थियो, अब त राज्यले हेर्नेछ। ....

दार्चुला, असार २९ : लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएपछि दार्चुलाको छाङरु र तिंकरका वासिन्दालाई लागेको थियो, अब त राज्यले हेर्नेछ। तर, राज्यले वास्ता नगर्दा त्रिदेशीय सीमा क्षेत्रका वासिन्दा झन खाद्यान्न अभाव झेलिरहेका छन्।
दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिंकरमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो।
विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक नाकाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन्। अहिले गाउँमा पुरानै खाद्यान्नले गुजारा चलाइरहेका छन्।
उनीहरुले गत चैतमै हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिदिनका लागि सरकारलाई आग्रह गरेका थिए। तर, अहिलेसम्म ढुवानी हुनसकेकाे छैन।
गाउँमा चामल अभाव हुन थालेपछि मूल्य आकाशीएको छ। यहाँ मोटो चामल प्रतिकिलो दुई सय ५० रुपैयाँसम्ममा खरिद बिक्री हुन थालेको छ।
चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङरुमा दुई सय ५० रुपैयाँ प्रतिकिलो खरिद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आएका व्यापारी देवसिंह खातीले बताए। “नेपालकै भूमि भएर कुञ्चा सर्दा बाटोघाटो थिएन। अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दै छ। चामल किन्न पाइँदैन। केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ,” खातीले भने।
उनका अनुसार अहिले छाङरु र तिंकरमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली उपयोग गर्न थालेको छन्। अहिले यहाँका स्थानीयवासीले फापर, कोदोजस्ता पुराना अन्न प्रयोग गर्दै आएका छन्।
सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ। विगतमा ८० देखि ९० रुपैयाँ प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ। “घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्,” स्थानीय गीता बोहराले भनिन्।
पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ। समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको उनले बताइन्।
व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले छाङरु र तिंकरको लागि छिट्टै खाद्यान्न ढुवानी हुने बताए। यहाँका दुवै गाउँका लागि सदरमुकाम खलङ्गामा खाद्यान्न पुगिसकेको बताउँदै उनले भने, “मौसम सफा हुने बितिक्कै दुवै गाउँका लागि खाद्यान्न ढुवानी हुन्छ।”
दुवै गाउँका लागि दुई सय क्विन्टल खाद्यान्न पु¥याउँदै छ। अहिले छाङरुमा एक सय १९ र तिंकरमा ७० घरधुरी छन् भने दर्जनभन्दा बढी भेडा व्यवसायी यो क्षेत्रमा बसेका छन्।
छाङरु र तिंकरमा खाद्यान्न ढुवानी गर्न शनिबार हेलिकप्टर प्रस्थान गरेपनि मौसममा सुधार हुन नसक्दा बीच बाटोबाटै फर्किएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवै गाउँमा हेलिकप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी शुरु गर्ने तयारी गरे पनि मौसम खराबी हुँदा हेलिकप्टर ती गाउँमा जान नसकेको जनाएको छ।
शुक्रबार सदरमुकाम खलङ्गामा पुगेको हेलिकप्टरले शनिबार मध्याह्न खाद्यान्न ढुवानी गर्ने तयारी गरेको थियो। सदरमुकाम खलङ्गाबाट मध्याह्न हिँडेको हेलिकप्टर थि भीरभन्दा माथि जान नसकेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए।
बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर थिभन्दा माथि जान नसकेपछि सदरमुकाम खलङ्गा फर्किएको छ। पहिलो दिन गाउँपालिका अध्यक्ष बुढाथोकी, कांग्रेस पार्टी सभापति ललितसिंह बोहरा, वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहरा र गाउँ कार्यपालिका सदस्य वासु ऐतवाल लिएर हेलिकप्टर खलङ्गाबाट उडेको थियो।
छाङरु र तिंकरमा एक÷एक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताए। प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउन्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि ती गाउँमा खाद्यान्न ढुवानी शुरु गरिएको उनको भनाइ छ।
चामल ढुवानीको प्रतिस्पर्धामा तीन वटा हवाई कम्पनीले सहभागिता जनाएका थिए। सबैभन्दा न्यून प्रतिकिलोग्राम दुई सय ४९ रुपैयाँ ९८ पैसा भाडा कबोल गर्ने माउन्टेन हेलिकप्टर कम्पनीसँग चामल ढुवानीको सम्झौता गरिएको थियो। सोहीअनुसार सदरमुकाम खलङ्गामा दुई वटा ट्रकमार्फत खाद्यान्न पु¥याइएको छ। खलङ्गाबाट हेलिकप्टरमार्फत छाङरु र तिंकर गाउँमा खाद्यान्न पु¥याउन लागिएको जनाएको छ।
खाद्य संस्थानले भने छाङरु र तिंकरका स्थानीयलाई प्रतिकिलो ५१ रुपैयाँका दरले चामल उपलब्ध गराउने जनाएको छ। संस्थानले सुर्खेतबाट दार्चुला सदरमुकामसम्म सडकमार्फत खाद्यान्न पु¥याएको छ। हेलिकप्टरले एक पटकमा पाँच क्विन्टल खाद्यान्न ढुवानी गर्नसक्ने जनाएको छ। (रासस)




-1792226847.jpeg)






-1792226847.jpeg)