Kathmandu Press

सूदुरपश्चिममा स्वाब संकलन सुस्त, संक्रमण घट्दै

धनगढी, असार २८ : कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना संकलन सुस्त भएको छ। आरडिटी पोज....

सूदुरपश्चिममा स्वाब संकलन सुस्त, संक्रमण घट्दै

धनगढी, असार २८ : कोभिड–१९ को जाँचको दायरा बढाउनुपर्ने माग उठिरहेको समयमा सुदूरपश्चिम प्रदेशमा दैनिक स्वाबको नमूना संकलन सुस्त भएको छ। आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शंकास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमितको सम्पर्कमा आएकाको मात्र नमूना संकलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमूना संकलनमा कमी आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई दिनमा जम्मा ६०१ जनाको मात्र नमूना संकलन गरिएको छ। दुई हप्ता अघिसम्म दैनिक पाँच सयदेखि छ सयसम्म शंकास्पद व्यक्तिको स्वाबको नमूना संकलन हुने गरेको थियो। पर्याप्त नमूना संकलन नभइरहेको र यसअघि परीक्षणका लागि संकलित नमूनाको चाप पनि घट्दै गएको छ। शनिबारसम्म जाँच गर्नुपर्ने नमूना ९११ मात्र बाँकी छन्। 

Hardik ivf

शनिबार कञ्चनपुरका तीन जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा कूल संक्रमितको संख्या तीन हजार ७५८ पुगेको छ। यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो। 

जिल्लागत रुपमा हालसम्म कैलाली ९९४, अछाम ५९२, बैतडी २९८, बझाङ १५९, बाजुरा ४४६, डडेलधुरा २६९, दार्चुला १९, डोटी ५३५ र कञ्चनपुरमा ४४६ जना संक्रमित पुगेका छन्। ९९४ सङ्क्रमित पुगेको कैलाली जिल्ला देशभरमै सम्भवतः सबैभन्दा बढी कोरोना संक्रमित जिल्लाका रुपमा देखिएको छ।    

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भारतबाट आउनेहरुको संख्या क्वारेन्टाइनमा बसेकाहरुको संख्या घट्दै गएको कारण संक्रमणदर घटेको बताए। उनले भने, 'सीमामा आइपुग्नेहरु को कहाँ गइरहेका छन् भन्ने यकिन जानकारी थाहा नहुँदा पछिल्ला दिनमा स्वाब संकलनमन पनि कमी आएको छ।' 

आगामी चारपाँच दिन भित्रमा प्रदेशका सबै क्वारेन्टाइनमा बसेका शंकास्पदको स्वाबको नमूना संकलन गर्ने गरी तयारी गरिएको डा अवस्थीले जानकारी दिए। सीमा नाकाबाट आउनेहरुको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफू खुशी ढङ्गले गन्तव्यमा जाने गरेको देखिएकाले संक्रमण अब समुदायमा देखिने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ।

प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ। प्रदेशमा पहिलोपटक गत चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए। 

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्