सार्वजनिक यातायात चलाउन छलफल हुँदै, व्यवसायी भन्छन्, ‘सुरक्षाबिना चलाउँदैनौं’
काठमाडौं, असार २६ : सरकारले जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडौं उपत्यकाको हकमा भने तीन जिल्ला....

काठमाडौं, असार २६ : सरकारले जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। काठमाडौं उपत्यकाको हकमा भने तीन जिल्लाभित्र सञ्चालन गर्न सकिनेछ।
तर, व्यवसायीहरुले भने सुरक्षा व्यवस्था भएपछि मात्रै यातायात सञ्चालन गरिने बताएका छन्। यातायात व्यवसायीले भने सरकारले सल्लाह गरेर एकल निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘सरकारले एक पक्षीय निर्णय गरेको छ। व्यवसायीको मागलाई समावेश गरेको छैन।’
सार्वजनिक यातायात चलाउन व्यवसायीले पुनः कर्जा, चालक तथा सहचालकको कोरोना बीमा र सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। तर, सरकारले यस विषयमा केही निर्णय गरेको छैन। ‘सरकारले व्यवसायीहरुको मागलाई समावेश गरेको छैन। सरकारले निर्णय गर्दैमा सुरक्षाबिना सार्वजनिक यातायात चलाउन सकिँदैन,’ महासंघका अध्यक्ष कर्माचार्यले भने।
यातायात व्यवसायी गाडी चलाउन तयार रहेको र सरकारले माग पूरा गर्नुपर्ने अध्यक्ष कर्माचार्यको भनाइ छ। तीन महिनाभन्दा लामो लकडाउनमा तीन लाखभन्दा बढी सवारी साधान थन्किएका छन्। सर्भिसिङदेखि लिएर इन्जिन, ब्याट्री फेनुपर्ने अवस्थामा पुगेको यातायात व्यवसायीले बताएका छन्।
यसका लागि पुनः कर्जा दिने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। ‘सवारी साधन नबनाई चलाउन सकिँदैन। बनाउनको लागि व्यवसायीहरुसँग पैसा छैन,’ अध्यक्ष कर्माचार्यले भने।
यससम्बन्धी शुक्रबार दिउँसो दुई बजे यातायात व्यवसायी र मन्त्रालयका प्रतिनिधिहरुबीच छलफल हुँदैछ।




-1792226847.jpeg)






-1792226847.jpeg)