सुदूरपश्चिममा तीन हजार सात सय १७ कोरोना सङ्क्रमित
धनगढी, असार २५ : सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि सङ्क्रमित तीन हजार सात सय १७ पुगेको छ।
सामाजिक विकास ....

धनगढी, असार २५ : सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि सङ्क्रमित तीन हजार सात सय १७ पुगेको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटीमा थप ६७ जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको हो।
कैलालीमा सबैभन्दा बढी नौ सय ८६ जना सङ्क्रमित पुगेका छन्। योसँगै कैलाली देशभरमै धेरै सक्रमित हुने जिल्लामा दोस्रो भएको छ।
त्यस्तै, कञ्चनपुरमा चार सय ४०, डोटीमा पाँच सय ३३, डडेलधुरामा दुई सय ६९, बाजुरामा चार सय ४४, बैतडीमा दुई सय ९७, बझाङमा एक सय ४३, अछाममा पाँच सय ८७ र दार्चुलामा १८ सङ्क्रमित पुगेका छन्।
अछामबाट ५५ डिस्चार्ज भई घर फर्किएका छन्। यो समेत गरेर प्रदेशमा हालसम्म नौ सय ९३ डिस्चार्ज भई घर फर्किसकेका छन्।
कोभिड–१९को सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ। पछिल्ला केही दिनयता प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक घट्दै गएको देखिएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार असार १९ गते सबैभन्दा बढी चार सय ८४ जनामा र असार १८ गते तीन सय ३३ जनामा सङ्क्रमण देखिएको पुष्टि भएकामा त्यसयताका दिनमा सङ्क्रमित फेला पर्ने सङ्ख्या घट्दै गएको छ।
जबकि असार २० देखि २४ गतेसम्मको चार दिनको अवधिमा जम्मा तीन सय चार जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ। सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका युवायुवती एक हजार दुई सय ६९ पुगेका छन्।
यस्तै नौ वर्षसम्मका एक सय ६९ बालबालिक सङ्क्रमित भएका छन्। यद्यपि कोरोना सङ्क्रमणको जोखिम अझै यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए। वैशाख महिना शुरु हुँदासम्म पाँच सङ्क्रमित फेला परेकामा त्यसपछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो।
हालसम्म पिसीआर पद्धतिबाट २४ हजार आठ सय ८४ को स्वाबको नमूना जाँच भइसकेकामा एक हजार दुई सय तीन नमूनाको नतिजा आउन बाँकी छ। यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १७ हजार एक सय ६८ नमूनाको जाँच भइसकेको छ।
लकडाउन खुकुलो भएसँगै सर्वसाधारणको चहलपहल र भीडभाड बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। (रासस)











