Kathmandu Press

अतिक्रमित सार्वजनिक जग्गामा ३० भन्दा बढी पार्क बनाउँदै काठमाडौं महानगर

काठमाडाैं, असार २४ :  काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गरेर त्यसको संरक्षण गरी खुला क्षेत्र....

अतिक्रमित सार्वजनिक जग्गामा ३० भन्दा बढी पार्क बनाउँदै काठमाडौं महानगर

काठमाडाैं, असार २४ :  काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गरेर त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवर्द्धन गर्ने कामलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ।
 
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवर्द्धन  लगायतलाई प्राथमिकतामा राखेको जानकारी दिए। ‘हरियाली प्रवर्द्धन गर्ने, शहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वर्द्धन गर्ने लगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ।’

आर्थिक वर्ष २०७७-०७८ को बजेटमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको  संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ। ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ। ‘काठमाडौं महानगर घना बस्तीले भरिएको शहर हो। त्यसैले महानरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौँ,’ उनले भने, ‘हरियाली बढाउनुका साथै  भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौं अभियानलाई पनि हामीले प्राथमिकतामा राखेका छौं।’

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन्। 

योजना अनुसार महानगरपालिकाले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा–१४ को ज्ञानतीर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै  र धोवीखोला दोभानको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ। 

त्यसैगरी, महानगरपालिकाले वडा नम्बर ८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बीचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा नम्बर ४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा नम्बर ४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोडमध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ। 
 
वडा नम्बर १४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुनर्निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा नम्बर १७ को धोविचौर परिसरमा निर्माण र गाहिति पुनर्निर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा नम्बर ३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा नम्बर ३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणका लागि डीपीआर प्रतिवेदन तयार पार्न एक करोड विनियोजन गरेको छ। 

महानगरपालिकाले आफ्नो ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।  मेगा हल निर्माण गर्ने भनिएको भृकुटीमण्डपमा अहिले करीब २८ प्रतिशतमात्रै खुला स्थान रहेको काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले जानकारी दिएको छ। यी स्थानमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भएको छ। 

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, असार २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्