Kathmandu Press

विभाजन मञ्जुर छैन भन्दै नेकपाका केन्द्रीय सदस्यहरु बसे धर्नामा

काठमाडौं, असार २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह चुलिएका बेला पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वलाई मिल्न द....

विभाजन मञ्जुर छैन भन्दै नेकपाका केन्द्रीय सदस्यहरु बसे धर्नामा

काठमाडौं, असार २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह चुलिएका बेला पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वलाई मिल्न दबाब दिइरहेका छन्।

पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर अभियान नै चलाएका नेकपाका केन्द्रीय सदस्यहरु नेतृत्वलाई मिल्न दबाब दिने उद्देश्यले धर्नामा बसेका छन्। 

बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा केन्द्रीय सदस्य ठाकुर गैर लगायतका केन्द्रीय सदस्यहरु पार्टी नेतृत्वलाई मिल्न र पार्टीभित्रको विवाद बाहिर नल्याउन दबाब दिँदै धर्नामा बसेका हुन्। 

‘कम्युनिष्ट पार्टी नीति प्रधान हो, नेता प्रधान होइन’ भन्ने पुष्पलाल श्रेष्ठको भनाइलाई ब्यानरमै राखेर केन्द्रीय सदस्य तथा कार्यकर्ताहरु कार्यालयमा धर्ना दिएका हुन्। धर्नामा बसेका नेता तथा कार्यकर्ताले ‘हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर’ भन्ने नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयलाई लिएर नेकपाभित्रको आन्तरिक कलह चुलिएको छ। स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुले प्रधानमन्त्रीबाट राजीनामा  दिन अध्यक्ष ओलीसँग माग गरेपछि विवाद चर्किँदै गएको छ। 

विवाद चुलिएसँगै पार्टी विभाजनको बाटोतिर अघि बढ्न थालेपछि केन्द्रीय सदस्य गैरको नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरुले नेतृत्वलाई मिल्न दबाब दिन विभिन्न कार्यक्रम गर्दै आएका छन्। 
 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, असार २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्