Kathmandu Press

हावाबाट बिजुली उत्पादन,  गाउँ झिलिमिली

रामपुर, असार २३ : टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका-४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भए....

हावाबाट बिजुली उत्पादन,  गाउँ झिलिमिली

रामपुर, असार २३ : टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका-४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन्।

मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो। अहिले मित्यालको रुक्सेभञ्ञ्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ। टुकीका भरमा दिनचर्या बिताउँदै आएका स्थानीयवासी झममाया सुनारी विद्युत् सेवा उपभोग गर्न पाउँदा खुशी व्यक्त गर्छिन्। उनले दुर्गम गाउँमा बिजुली बत्ती बाल्न पाइन्छ भन्ने कहिल्यै आशा नगरेको तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिली बनेको बताइन्।

विद्युत् सेवा उपभोग गर्न पाएपछि यहाँका बासिन्दाको दिनचर्या सहज बनेको छ। स्थानीयस्तरमै हावाबाट निकालिएको विद्युत् सेवा मित्यालका काफल, मौलाथर, रुक्सेभञ्ज्याङ र झ्याल्टुङका नागरिकले प्रयोग गर्दै आएका छन्।  विद्युत् उत्पादन सफल भएपछि यहाँका बासिन्दा थप बिजुली निकाल्न कस्सिएका छन्। हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको दुई करोड १५ लाख बराबर खर्च भइसकेको सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारीले बताए।

मित्याल आसपासका १४६ घर तथा गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र  विद्यालयले विद्युत् उपभोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए।  रुक्सेभञ्ज्याङडाँडामा दुई ठूला पङ्खा घुमिरहेका हुन्छन् । सोलार प्यानलसमेत राखेर दुवैबाट बिजुली निकालिएको छ। शुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले अविश्वास गरेका थिए। रासस

प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, असार २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्