चिनियाँ राजदूत यान्छीको बढ्दो सक्रियता, झलनाथ खनालसँग पौने घण्टा छलफल
काठमाडौं, असार २३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनी....

काठमाडौं, असार २३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन्।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सुरुमा प्रधानमन्त्री एवं नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई भेटेकी राजदूत यान्छीले त्यसपछि नेकपाका शीर्ष नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिँदै आएकी छिन्।
प्रधानमन्त्री ओलीपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग छलफल गरेकी राजदूत यान्छीले मंगलबार नेकपाकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेकी छिन्।
खनाललाई भेट्न राजदूत यान्छी उनकै निवास डल्लु पुगेकी हुन्। पूर्वप्रधानमन्त्री खनाल र राजदूत यान्छीबीच झण्डै पौने झण्टा छलफल भएको छ। उनीहरुबीचको भेटमा दुई देशबीचको सहयोग आदान प्रदानका विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर पार्टीभित्र विवाद चुलिएका बेला चिनियाँ राजदूत यान्छीले बढाएको भेटवार्तालाई लिएर नेकपाभित्रको विवाद मिलाउने प्रयास भनेर टिप्पणी गर्न थालिएको छ।
विभाजनको निकट पुगेको नेकपालाई फुटबाट जोगाउन र एकता कायम गराउन राजदूत यान्छी सक्रिय भएको भनेर आलोचना समेत सुरु भएको छ। तर चिनियाँ दूतावासले भने भेटलाई नियमित भनेको छ।
चिनियाँ राजदूतको सक्रियतालाई लिएर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको आन्तरिक समस्याबारे अनावश्यक चासो दिनु उपयुक्त नभएको टिप्पणी गरेका थिए।











