Kathmandu Press

खाली हुँदैछ सप्तरीका क्वारेन्टाइन

सप्तरी, असार २२ : सप्तरीमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ। होम क्वारेन्टाइनमा बस्ने बढेका छन्। असार २१ गतेसम्ममा क्वारेन्टाइनमा बस्नेको सं....

खाली हुँदैछ सप्तरीका क्वारेन्टाइन
Hardik ivf

सप्तरी, असार २२ : सप्तरीमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ। होम क्वारेन्टाइनमा बस्ने बढेका छन्। असार २१ गतेसम्ममा क्वारेन्टाइनमा बस्नेको संख्या तीन सय ६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। जसमा ३२ जना महिला रहेका छन्।
    
९ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टाइनस्थलमा तीन हजार ८०० श्यया छ। क्वारेन्टाइनमा बस्नेको संख्या घटेपछि ४७ क्वारेन्टाइनस्थल पूर्णतया खाली भएका छन्। बाँकी ३९ क्वारेन्टाइनमध्ये अधिकांशमा एकदेखि पाँच जना मात्र छन्। हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ४९७ महिला र चार हजार ५६० पुरुष गरी पाँच हजार ५७ पुगेको छ। क्वारेन्टाइनमा हालसम्म राखिएकामध्ये ४६५ महिला र चार हजार २८६ पुरुष गरी चार हजार ७५१ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय, सप्तरीका नारायणप्रसाद राउत बरैले जानकारी दिए।
    
जेठ २१ गते क्वारेन्टाइनमा बस्नेको संख्या एक सय ३४ महिला र एक हजार ७ सय ९० पुरुष गरी एक हजार ९ सय २४ पुगेको थियो। त्यसपछि क्वारेन्टाइनमा बस्ने क्रमशः घट्यो। अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टाइनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
    
असार २१ गतेसम्म होम क्वारेन्टाइनमा बस्ने चार हजार १०५ पुगेका छन्। सप्तरीमा संक्रमितको संख्या तीन सय २१ पुगेकोमा एक सय ३९ जना घर फर्किएका कोभिड–१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए।

हाल २० महिला र एक सय ४९ पुरुष आइसोलेशन केन्द्रमा छन्। पछिल्लो पटक थप भएका डाक्नेश्वरी नगरपालिकाका आठ, विष्णुपुर गाउँपालिकाका ६ र सप्तकोशी गाउँपालिकाका चार संक्रमितलाई राजविराज ल्याउने तयारी भइरहेको छ। 
    
सप्तरीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या तीन सय २१ पुगेको हो। सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ। सप्तरीमा पीसीआर परीक्षणका लागि हालसम्म चार हजार ७ सय ९१ जनाको स्वाब संकलन गरिएकामध्ये तीन सय २१ जना कोरोना संक्रमित भएका छन् भने चार हजार २३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। स्वाब संकलन गरिएकामध्ये २५२ जनाको नतिजा आउन बाँकी छ।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्