नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण युवामा
काठमाडौं, असार २२ : नेपालमा कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी युवामा देखिएको छ। अहिलेसम्म देखिएका संक्रमितमध्ये आधाभन्दा बढी युवा रहेका छन्।
....
काठमाडौं, असार २२ : नेपालमा कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी युवामा देखिएको छ। अहिलेसम्म देखिएका संक्रमितमध्ये आधाभन्दा बढी युवा रहेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, अहिलेसम्म देखिएका संक्रमित १५ हजार सात सय ८४ जनामध्ये ५८ प्रतिशत युवा छन्। युवा उमेर समूह २१ देखि ४० वर्षसम्मका संक्रमितको संख्या नौ हजार चार सय रहेको छ।
यो समूहमा पनि २१ देखि ३० वर्षसम्मका पाँच हजार आठ सय रहेका छन्। त्यस्तै, ३१ देखि ४० वर्षसम्मका तीन हजार पाँच सयभन्दा बढी छन्। त्यसपछि किशोरावस्थाका संक्रमितको संख्या बढी छ। अहिलेसम्म ११ देखि २० वर्षसम्मका पाँच हजार दुई सय ५६ जनामा कोरोना देखिएको छ।
त्यस्तै, ४१ देखि ५० वर्षसम्मका एक हजार पाँच सय ६२ जना छन भने ५१ देखि ६० वर्षसम्मका पाँच सय ६४ जना संक्रमित छन्। कोरोनाका लागि सबैभन्दा जोखिम मानिएको उमेर समूहका संक्रमितको संख्या भने नेपालमा कम रहेको छ। मन्त्रालयको तथ्यांकअनुसार, ६१ देखि ७० वर्षसम्मका एक सय ७९, ७१ देखि ८० वर्षसम्मका ४३ जनामा मात्रै कोरोना देखिएको छ।
यस्तै, ८० वर्षभन्दा माथिका १० जनामा कोरोना देखिएको छ। अन्य देशको तुलनामा बालबालिकामा भने कोरोना संक्रमण धेरै देखिएको छ। अहिलेसम्म १० वर्षसम्मका पाँच सय ६९ बालबालिकामा कोरोना देखिएको छ। नेपालमा अहिलेसम्म कोरोना देखिएकामध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार पाँच सय ४७ जना निको भएका गएका छन्।
भौगोलिक हिसाबले सबैभन्दा बढी तराई मधेशका जिल्लामा कोरोना देखिएको छ। विशेष गरेर भातरसँग सीमा जोडिएका र आवतजावत बढी रहेका जिल्लामा कोरोनाको संक्रमण धेरै देखिएको मन्त्रालयले जनाएको छ।











