Kathmandu Press

ओली र प्रचण्डको छलफल सकियो, फेरि भाेलि छलफल हुने

काठमाडौं, असार २२ : सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। पुनः छलफल गर्न दुवै अध्यक्ष....

ओली र प्रचण्डको छलफल सकियो, फेरि भाेलि छलफल हुने

काठमाडौं, असार २२ : सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। पुनः छलफल गर्न दुवै अध्यक्ष सहमत भएका छन्।

नेकपा स्थायी कमिटीको बैठक स्थगित गरेर दुवै अध्यक्ष बालुवाटारमा छलफलमा बसेका थिए। दुवै जनाबीच एक्लाएक्लै भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ।

सोमबारको छलफलमा दुवै नेताले भ्रम र हल्लाबारे एकअर्कालाई स्पष्ट पार्न खोजेका थिए। त्यसपछि केहीबेर के कसरी सहमति गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाएको छ। करिब एक घन्टा भएको छलफलमा कुनै निष्कर्षमा भने पुगेका छैनन्।

आइतबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो। आइतबारको छलफलमा महासचिव बिष्णु पौडेल र पूर्वमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए। आज भने दुवै अध्यक्षबीच मात्रै छलफल भएको हो।

दुवै अध्यक्षले मंगलबार फेरि छलफल गर्ने सहमति गरेका छन्। मंगलबारको छलफलमा आवश्यक परे वरिष्ठ नेता माधव नेपाललाई पनि सहभागी गराइने जनाएको छ।

दुई सातादेखि चर्किएको नेकपाको विवाद अझै साम्य हुन सकेको छैन। प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामाको माग गरिरहेका छन। ओली भने राजीनामा नदिने अडानमा छन्।

जसले गर्दा नेकपा स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन। बिहीबार छलफल हुन नसकेपछि बैठक स्थगित गरिएको थियो।

त्यसपछि शनिबार बोलाएको बैठक पनि स्थगित भएको थियो। आज पनि बैठक नबस्दै स्थगित गरिएको छ। अर्को बैठक असार २४ गते बोलाइएको छ।

त्यसअघि आज र भोलि सहमतिका लागि प्रयास गरिने जनाएको छ।

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्