सेनाको सम्मानसहित कोरोना संक्रमितको शव व्यस्थापन
बागलुङ, असार २२ : क्वारेन्टाइनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय युवकको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबा....

बागलुङ, असार २२ : क्वारेन्टाइनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय युवकको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ।
युवकको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा निधन भएको थियो।
यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब संकलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना संक्रमण पुष्टि भएको हो। उनकाे शवलाई नेपाली सेनाको अर्जुन बाड गणअन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए। खोला नजिक बगरमा डोजरले खाल्डो खनेर उनकाे शव गाडिएको छ।
पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफूहरु तयारी अवस्थामा रहेको भए पनि ढोरपाटनमा कुनै अवरोध नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।
मृतक चार वर्षअघिदेखि क्षयरोगको बिरामी थिए। उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ। असार २ गते भारतबाट फर्किएका उनी ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टाइनमा बसेका थिए। श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब संकलनको लागि ढोरपाटन–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइन पुगेका उनका परिवारलाई सोही दिनबाट क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताए।
श्रीमती, दुई छोरी र एक छोराको समेत स्वाब संकलन गरी पठाइएकोमा मृतक र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो। एक छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि उनको स्वास्थ्य अवस्था नाजुक भएको कारणले सपरिवार क्वारेन्टाइनको एउटै कोठामा बसिरहेको वडासचिव देवेन्द्र बस्यालले जानकारी दिए। मृतकका परिवारका सदस्यको पुनः स्वाब संकलन गरी परीक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए।











