बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई पक्राउ
काठमाडौं, असार २२ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले उच....

काठमाडौं, असार २२ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई आइतबार पक्राउ गरेको हो।
पक्राउ परेका सुनारलाई अदालतले १४ लाख ६९ हजार ६४० रुपैयाँ जरिवाना र पाँच दिन कैद तथा बस्नेतलाई १३ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद ठहर गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
पक्राउ परेका सुनार र बस्नेतले पीडित दीपककुमार विश्वकर्मालाई रकम नभएको विभिन्न बैंकको चेक काटेर बैंकिङ अपराध गरेका थिए। प्रहरीले सुनारलाई तारकेश्वर र बस्नेतलाई धर्मस्थलीबाट पक्राउ गरेको थियो। पक्राउ परेका दुवैजनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरेको सिआइबीले जनाएको छ।











