Kathmandu Press

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

क्राइस्टचर्च, चैत ६ः सिरियाको गृहयुद्धका कारण भागेर ‘संसारकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस....

ज्यान जोगाउन सिरियाबाट भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए
एएफपी

क्राइस्टचर्च, चैत ६ः सिरियाको गृहयुद्धका कारण भागेर ‘संसारकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरूको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाइ गरेका थिए ।

न्यूजील्यान्डको क्राइस्टचर्चका दुइटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरूमध्ये हालसम्म दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ । घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ ।

सिरियाबाट न्यूजिल्यान्ड आएकाहरूमा बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन्।

Hardik ivf

क्राइस्टचर्चको मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि जम्मा भएका व्यक्तिमध्ये ५० जनाको गोली लागी मृत्यु भएको थियो । आक्रमणकारीले त्यसको फेसबुकमा लाइभसमेत गरेका थिए।

हम्जा पढ्ने माध्यमिक विद्यालयका प्रिन्सिपलले उनी पढाइमा निकै मिहिनेती रहेको बताउँदै घोडचढी खुबै मनपर्ने गरेको स्मरण गरे।

बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए । मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । ‘दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,’ दाहसंस्कारमा सहभागी एक जनाले बताए।

‘हामीले उनलाई हात नमिलाउन अनुरोध ग¥यौं । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,’ अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुगेका जमिल एल–बिजाले भने।

मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजील्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब ६ वर्ष शरणार्थी जीवन बिताएर उनीहरू अस्ट्रेलिया हुँदै न्यूजील्यान्ड पुगेका थिए।

मुस्तफाकी पत्नी सल्वाले रेडियो न्यूजील्यान्डसँग कुराकानी गर्दै सबै जनाले विश्वमै सबैभन्दा सुरक्षित मुलुक न्यूजील्यान्ड हो भनेपछि यहाँ आएको बताइन्।

उनले भनिन्, ‘तर यहाँ पनि सुरक्षा रहेनछ ।’

मस्जिद गोलीकाण्डमा मारिएका परिवारका सदस्यहरु आफ्ना नातेदारको दाहसंस्कारका लागि व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन्।

प्रहरी आयुक्त माइक बुसले प्रहरीले सबै पीडितको पहिचान गरिसकेको र २१ जनाको शव सम्बन्धित परिवारजनलाई बुझाउन लागेको जानकारी दिए।

इस्लामिक धार्मिक परम्पराअनुसार शवको शुद्धिकरण पश्चात जतिसक्दो चाँडो जमिनमा गाड्नु पर्दछ।

न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आमजनता समक्ष पीडितका पक्षमा कुरा गर्न पुनः आग्रह गरेकी छन् । उनले हत्याराको नाम समेत लिन नहुने बताएकी छन्।

मस्जिद आक्रमणमा १४ वर्षका काश्मिरी छात्र १४ वर्षीय सायद मिल्नेको पनि मृत्यु भएको छ । मङ्गलबार साँझसम्म करिब ३० जना अझै अस्पतालमा उपचारारत छन् । तीमध्ये करिब १० जनाको स्वास्थ्य स्थिति निकै जटिल रहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये चार वर्षकी बालिका पनि छिन्।

अस्ट्रेलियाली नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिसन टारान्टमाथि मस्जिद आक्रमण र व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले टारान्ट एक्लैले गोली चलाएको हो वा अरु पनि सहभागी थिए भन्ने बारेमा अनुसन्धान गरिरहेको छ।

न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डनले मुलुकको बन्दुक कानुनमा सुधार गर्ने बताउँदै अर्को साताभित्र नयाँ कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। (एपी)

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, चैत ६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्