Kathmandu Press

प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टी एकताको म्यान्डेट विपरीत : रायमाझी

काठमाडौं, असार २१ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीका....

प्रधानमन्त्रीलाई हटाउन खोज्नु पार्टी एकताको म्यान्डेट विपरीत : रायमाझी

काठमाडौं, असार २१ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाइ छ। आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिबेला सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको पनि बताए।

उनले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दा पनि शक्ति बाँडफाँडमा बढी केन्द्रित रहेको स्पष्ट पारे। उनले भने,‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ। यही विषयले उचाइ  लिइरहेको छ। अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ।’

रायमाझीले लामो समयपछि नेपाली जनताले दुई तिहाइ बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको उनले बताए। 

रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्यान्डेट विपरीत हुने पनि टिप्पणी गरे। उनले भने,‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ। अहिले बहुमत वा अल्पमतमा जाने होइन। बहुमतका आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्यान्डेट विपरीत हुन्छ।’ 

अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जाने पनि उनले खतरा औंल्याए। अहिले देखिएका विवाद समाधानको लागि नेताहरुले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ।
 

प्रकाशित मिति: १८:१५ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्