Kathmandu Press

मेलम्ची आयोजनाको निर्माण सकियो, चाँडै उद्घाटन गर्दैछौं : खानेपानीमन्त्री मगर

काठमाडौं, असार २१ : खानेपानी मन्त्रालयले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्....

मेलम्ची आयोजनाको निर्माण सकियो, चाँडै उद्घाटन गर्दैछौं : खानेपानीमन्त्री मगर

काठमाडौं, असार २१ : खानेपानी मन्त्रालयले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएको बारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने बताइन्। 

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ। सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए। आम जनतामा निरासा थियो। मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए। तर, हामीले चुनौतीसँग जुध्यौं। ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं। आज आयोजना सम्पन्न भएको छ। यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें। आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरि । तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं। त्यसकै प्रतिफल आजको उपलब्धि हासिल गरेका छौं। यसले हामी सबै नेपालीको शीर उच्च भएको छ।’

पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने बताए।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए।  उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने जानकारी दिए।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, असार २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्