Kathmandu Press

नेकपा प्रवक्ता भन्छन्- पार्टी एकतामा गम्भीर संकट देखा पर्‍यो

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताएका छन्।....

नेकपा प्रवक्ता भन्छन्- पार्टी एकतामा गम्भीर संकट देखा पर्‍यो

काठमाडौं, असार १८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताएका छन्। 

बिहीबार बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकतामा संकट देखा परेको बताएका हुन्। 

‘हाम्रो पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ उनले भने,‘तर, पार्टीलाई यो संकटबाट बचाउनु पर्छ।’ 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति विपरीत मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीले बोलाएको आरोप लगाए। ‘हाम्रा दुई अध्यक्ष कमरेडहरुबीच आज मन्त्रिपरिषद् बैठक नराख्ने र स्थायी कमिटी बैठकमै केन्द्रित हुने समझदारी भएको थियो। तर, त्यो सहमति विपरीत प्रधानमन्त्रीजीले मन्त्रिपरिषदको बैठक राख्नु भयो,’ उनले भने। 

प्रवक्ता श्रेष्ठले संसदको अधिवेशन अन्त्य सरकारको विषय भएपनि यसबारे पार्टीमा प्रधानमन्त्री ओलीले कुनै छलफल नगरेको बताए। ‘प्रधानमन्त्री एवं अध्यक्ष कमरेड ओली स्थायी कमिटीको बैठकमा सहभागी हुनु भएन,’उनले भने,‘हतारमा किन संसदको अधिवेशन अन्त्य गर्नु परेको हो त्यसबारेमा सरकारले नै प्रष्ट पार्ला।’ 

बिहीबार दुई पटक बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन्। बरु, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गराए। त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी थिइन्। 

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्