नेकपाभित्रको झगडाको सिकार संसदलाई बनाइयो : कांग्रेस
काठमाडौं, असार १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको किचलोको सिकार संसदलाई बनाइएको भन्दै आपत्ति जन....

काठमाडौं, असार १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको किचलोको सिकार संसदलाई बनाइएको भन्दै आपत्ति जनाएको छ। कांग्रेसले बजेट अधिवेशन चलिरहेका बेला र संसदले विजनेश पाइरहेका बेला दलिय झगडाको सिकार संसदलाई बनाइनु अस्वभाविक भएको बताएको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नेकपा भित्रको झगडाको रिस संसदमा पोखिनु दुखद् भएको बताए। ‘सत्तासिन पार्टी नेकपाको आन्तरिक झगडा चलिरहेको थियो। त्यही झगडाका कारण प्रधानमन्त्रीले बजेट अधिवेशनको अन्त्य गरिदिनुभयो। यो अस्वभाविक छ,’ उनले काठमाडौंप्रेससँग भने, ‘यो जनउत्तरदायी काम भएन। जनताका थुप्रै मुद्दा संसदमा उठिरहेका थिए। त्यसले जनतामा भरोसा दिलाएको थियो र सरकारमाथि काम गर्न दबाब परेको थियो। सरकारले प्रस्तुत गरेका विधेयक पनि थिए, विषयगत समितिका प्रतिवेदनमाथि पनि छलफल गर्नुपर्ने थियो। तर, ती सबैलाई छाँयामा राखेर दलिय किचलोका कारण विचार राख्ने र छलफल गर्ने काममा अवरोध गरियो।’
खाँडले संसद अधिवेशन अन्त्य गर्दा सभामुखसँगै संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग समेत छलफल गर्नुपर्ने परम्परा रहेको बताए। ‘सभामुख र अन्य दलसँग छलफल गर्ने परम्परा थियो। अहिले हामीसँग त छलफल गर्ने काम भएन। सभामुखसँग भयो कि भएन थाहा छैन,’ उनले भने, ‘संसदीय पराम्परा भन्दा विपरित रहेर हतासमा निर्णय भएको छ।’
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी छन्।










