दल फुटाउने अध्यादेश ल्याउने तयारीमा सरकार
काठमाडौं, असार १८ : सरकारले दल फुटाउने अध्यादेश पुनः ल्याउने तयारी गरेको छ।
बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन....

काठमाडौं, असार १८ : सरकारले दल फुटाउने अध्यादेश पुनः ल्याउने तयारी गरेको छ।
बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। आजै साँझ ५ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ।
स्रोतका अनुसार १५ मिनेट बसेर सकिएको मन्त्रिपरिषद् बैठक अपरान्ह पुन बोलाइएको छ। उक्त बैठकले दल फुटाउन सहज हुने अध्यादेश ल्याउने बुझिएको छ।
राजनीतिक दल सम्बन्धि ऐनमा कुनै पनि राजनीतिक दल फुटाउन केन्द्रीय समिति र संसदीय समिति दुवैमा ४० प्रतिशत सदस्य आवश्यक रहने प्रावधान छ। तर, सरकारले संसदीय दल वा केन्द्रीय समिति मध्ये एकमा ४० प्रतिशत सदस्य पुगे दल फुटाउन सकिने गरी अध्यादेश ल्याउने छ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको पहिलो साता दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएका थिए। तर, चौतर्फी विरोध भएपछि अध्यादेश फिर्ता भएको थियो।
एक साता अघिबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब बढेको छ। स्थायी समितिका बहुमत सदस्य ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन्। सोही कारण ओलीले दल फुटाउने योजना अनुरुप अध्यादेश ल्याउन लागेको स्रोतले जानकारी दियो।










