नेकपामा केपी ओलीको विकल्प कोही हुन सक्दैनन् : कर्ण थापा
काठमाडौं, असार १७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुर....

काठमाडौं, असार १७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको बताएका छन्।
बुधबार काठमाडौंमा रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले प्रधानमन्त्रीको राजीनामा राष्ट्र, पार्टी र नेपाली जनताका निम्ति असान्दर्भिक हुने बताएका हुन्। थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको बताए। २०१५ सालमा वीपी कोइरालाको नेतृत्वमा दुई तिहाइको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाइ बहुमत दिएको स्पष्ट पारे। उनले जुन दलले ऐतिहासिक बहुमत प्राप्त गर्छ त्यो दललाई अन्य दलभन्दा पनि आफ्नै दलभित्रबाट सरकारलाई असहयोग हुने गरेको पनि बताए।
‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्ने गरी अघि बढ्नुपर्नेमा उनको जोड छ। उनले अहिले एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे। उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेकपा नेतृत्वलाई प्रश्न गर्दै उनले भने,‘के राजीनामा भनेको यस्तै खेलवाड हो? राजनीति भनेको प्रश्न खडा गर्नेमात्रै हो र? कि समस्या समाधान गर्ने ढंगले सोच्ने हो?’
पूर्वमन्त्रीसमेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल हुनै नसक्ने जिकिर गरे। उनले भने,‘पहिलो पुस्ताले जे जति गरे, अब केपी ओलीपछि मैले जे जति नाम अहिले उच्चारण गरें। अब यी नामले नेतृत्व गर्न सक्दैनन्। नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ, अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ। मैले भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ।’
उनले वर्तमान प्रधानमन्त्री ओली पार्टीको कुनै मोर्चामा अल्पमतमा नरहेको दाबी गरे। उनले भने,‘उहाँ अल्पमतमा हुनुहुन्छ भनेर हल्ला गरिएको छ। म चुनौती दिन्छु यही स्थायी कमिटी बैठकमा निर्णय गर्नुहोस् न त। किन हल्ला गर्नुहुन्छ? किन टेलिभिजनमा आएर बोल्नुहुन्छ? बहुमत भए देखाए भइहाल्यो नी।’











