Kathmandu Press

सुदूरपश्चिममा नौ वर्षमूनिका १७५ बालबालिकामा कोरोना

भीमदत्तनगर, असार १७ : सुदूरपश्चिम प्रदेशमा बालबालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। हालसम्म एक सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क....

सुदूरपश्चिममा नौ वर्षमूनिका १७५ बालबालिकामा कोरोना

भीमदत्तनगर, असार १७ : सुदूरपश्चिम प्रदेशमा बालबालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। हालसम्म एक सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो। एक साताअघि प्रदेशभरि ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिएको थियो। एक सातामा यो  सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए। “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्,” डा.अवस्थीले भने।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भएको थियो। त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन्। मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ। तीमध्ये पाँच सय ७३ महिला र बाँकी पुरुष छन्।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्,” डा.अवस्थीले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ।”

सुदूरपश्चिममा कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने चार सय ७९ सङ्क्रमित निको भइसकेका छन्। यहाँ सबैभन्दा बढी कैलालीका पाँच सय ९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।

निर्देशक डा.अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए। “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ,” उनले भने, “सात÷दश दिनमा सबै सामान आइसक्छ।”

क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टाइननलाई आइसोलेसन कक्षमा परिणत गरिँदै छ। सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ बसिरहेका छन्। बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ। तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन्।

सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन्।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ। निर्देशक डा.अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए। “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो।”

डा.अवस्थीले १४ दिन क्वारेन्टाइन बसेकालाई होम क्वारेन्टाइन पठाएर आइसोलेसन बढाउन लागेको बताए। यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन्।

“होम क्वारेन्टाइन र क्वारेन्टाइनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उहाँहरु समन्वयमै हुनुहुन्छ”, उनले भने, “लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ।” (रासस)

प्रकाशित मिति: ०९:४४ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्