कांग्रेस बैठक : महाधिवेशन फागुनमै गर्ने गरी कार्यतालिका हेरफेरको प्रस्ताव
काठमाडौं, असार १६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्ने गरी कार्यतालिका हेरफेरसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको छ।
काठमाडौं, असार १६ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्ने गरी कार्यतालिका हेरफेरसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार जारी बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले पुस महिनामा नगर, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी फागुन पहिलो हप्ता नै केन्द्रीय अधिवेशनको प्रस्ताव गरेका छन्। नयाँ प्रस्तावमा गाउँ-नगर, वडा अधिवेशन पुस ६ गते गरिसक्ने उल्लेख छ। यसअघिको कार्यतालिका अनुसार गाउँ-नगर अधिवेशन कात्तिक १६ गते गर्ने तय भएको थियो।
यस्तै, गाउँ-नगरपालिका अधिवेशन पुस ८ गते गर्ने प्रस्ताव गरिएको छ। यसअघि गाउँ-नगरपालिका अधिवेशन कात्तिक १८ गते गर्ने तय थियो। प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते हुने तय भएको अब नयाँ कार्यतालिका अनुसार पुस ११ गते गर्ने उल्लेख छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला) पुस १३ गते गर्ने प्रस्ताव अघि सारिएको छ। यसअघिको कार्यतालिका अनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन कात्तिक २३ गते गर्ने तयारी थियो।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन) कात्तिक २५ गते गर्ने तय भएकोमा प्रस्तावित कार्यतालिका अनुसार पुस १६ गते हुनेछ। यस्तै, प्रदेश अधिवेशन मंसिर २९ हुने तय भएकोमा माघ ६ गतेलाई प्रस्ताव गरिएको छ।
केन्द्रीय अधिवेशन भने यसअघि तोकिएकै मिति फागुन ७, ८, ९ र १० गते गर्न प्रस्ताव गरिएको छ। कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति पछि महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको हो। महाधिवेशनको कार्यतालिकाबारे मंगलबारको बैठकले टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार बैठक पार्टी कार्यालयमा जारी छ।











