केयूका उपकुलपति मकाजुले एउटै व्यक्तिलाई दिए तीन मुख्य जिम्मेवारी
काठमाडौं, असार १६ : काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजुले एउटै व्यक्तिलाई तीन महत्वपूर्ण पद दिएको भन्दै प्राध्यापकहरु असन्तुष्ट बनेका छन्।....

काठमाडौं, असार १६ : काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजुले एउटै व्यक्तिलाई तीन महत्वपूर्ण पद दिएको भन्दै प्राध्यापकहरु असन्तुष्ट बनेका छन्।
मकाजुले धुलिखेल अस्पतालका निर्देशक डा. रमेश मकाजुलाई अस्पतालकै प्रशासकीय अधिकृत र विश्वविद्यालयको स्कुल अफ मेडिकलको एसोसिएट डिनको जिम्मेवारी दिएको भन्दै प्रध्यापकहरुले विरोध गरेका हुन्।
‘एकै व्यक्तिलाई तीन वटा महत्वपूर्ण जिम्मेवारी दिइएको छ। स्कुल अफ मेडिकल साइन्स र धुलिखेल अस्पताल फरक संस्था हो। एकै व्यक्तिलाई दुवै ठाँउको जिम्मेवारी दिँदा स्वार्थ बाझिन्छ,’ प्रध्यापक डा. विभुतीरन्जन झाले काठमाडौं प्रेससँग भने, ‘उहाँ अस्पतालको जिम्मेवारी लिएको मान्छे हो। त्यसैले उहाँको झुकाव अस्पतालमै रहन्छ। यता स्कुल तर्फको जिम्मेवारी पाउँदा स्वतन्त्ररुपमा कार्यसम्पादन हुँदैन।’
केयूका प्रध्यापकहरुले एक व्यक्ति एक पदको सिद्धान्त विश्वविद्यालयमा लागु गर्न माग गरेका छन्। ‘एसोसिएट डिन भन्ने पद आफैंमा पूर्णकालिन वैतनिक पद हो। सँगै निर्देशक र मुख्य प्रशासकीय अधिकृत पनि भनिएको छ। यो के हो?,’ अर्का एक प्रध्यापकले भने, ‘विश्वविद्यालयको उपकलुपति रामकण्ठ मकाजुले आफ्ना मान्छे च्याप्ने र उनीहरुलाई मात्रै जिम्मेवारी दिने गर्नु भएको छ। यो त्यसकै शृंखला मध्येको एक हो।’
प्रध्यापकहरुले विश्वविद्यालयमा धेरै समस्या रहेको बताउँदै विस्तारै ती वेथितीका विरुद्धमा कदम उठाइने बताएका छन्। विश्वविद्यालयमा वेथिती मौलाएको र त्यसलाई छानबिन गर्न भन्दै प्रशासन र प्रध्यापक संघको सहमतिमा हालै विश्वविद्यालयको सभाले तीन समिति गठन भएको र ती समितिले अहिले काम गरिरहेका छन्।











