भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी
नयाँदिल्ली, असार १६ : भारतले सर्वाधिक लोकप्रिय एप्स टिकटकमाथि प्रतिबन्ध लगाएको छ। सरकारले भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्यांक चीन सरकारलाई ....

नयाँदिल्ली, असार १६ : भारतले सर्वाधिक लोकप्रिय एप्स टिकटकमाथि प्रतिबन्ध लगाएको छ। सरकारले भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्यांक चीन सरकारलाई उपलब्ध गराएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको हो। तर टिकटकले भने उक्त आरोप अस्वीकार गरेको छ।
भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्याँक विवरणलाई सुरक्षित राखेको बताएका छन्। उनले टिकटकका प्रयोगकर्ताका कुनै पनि विवरणलाई चीन सरकार समेतका कुनै विदेशी सरकारलाई नदिइएको स्पष्ट पारे।
टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ।
भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एप्सका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ ।
चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ। यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू विमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ।
यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ। गत साता, नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो ।
भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ। चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

