स्वास्थ्यमन्त्रीलाई भेटेर कांग्रेस टाेलीले भन्यो- 'पीसीआर बढाउ, क्वारेन्टाइन व्यवस्थित गर'
काठमाडौं, असार १६ : नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका....

काठमाडौं, असार १६ : नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको हो।
प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइन व्यवस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, आग्रह गरेको छ। त्यस्तै, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन र स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शि बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ।
कांग्रेसले निरन्तर आफ्नो सहयोग, सञ्चारमाध्यमको खबरदारी, नागरिक समाज र आमजनताको साथले सिर्जना गरेको अनुकूलताको बाबजुद पनि सरकारको कमजोरीका कारण कोभिड–१९ सङ्क्रमण वृद्धि हुँदै जाँदा जनजीवन कष्टकर बन्दै गएको जनाएको छ।
भेटमा मन्त्री ढकालले सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचारमा सक्दो प्रयास गरिरहेको, विदेशबाट आउने नेपालीको सङ्ख्या विस्तारै कम हुँदा क्वारेन्टिन व्यवस्थापनको चुनौती पनि कम हुँदै गएको र आरडीटी परीक्षणलाई निरुत्साहित गर्दै लगिएको बताएका थिए।उनले पीसीआर परीक्षण हाल दैनिक आठ हजार क्षमता भएको र केही दिनमा दैनिक १० हजार गरिने जानकारी गराए।
सहमहामन्त्री डा.महत नेतृत्वको प्रतिनिधिमण्डलमा नेताहरु एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी रहेका थिए।
प्रतिनिधिमण्डलले आजै अपरान्ह २ बजे अर्थमन्त्री डा.युवराज खतिवडासँग कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा छलफल गर्न भेट्ने कार्यक्रम रहेको जनाएको छ।











