असारका १५ दिनमै थपिए सात हजार काेराेना संक्रमित
काठमाडौ., असार १५ : कोरोना भाइरस संक्रमितको संख्या असारका दुई सातामा अत्यधिक बढेको छ। गत पाँच महिनाभन्दा असारका १५ दिनमै दोब्बरभन्दा बढी संक्रमित भेटि....

काठमाडौ., असार १५ : कोरोना भाइरस संक्रमितको संख्या असारका दुई सातामा अत्यधिक बढेको छ। गत पाँच महिनाभन्दा असारका १५ दिनमै दोब्बरभन्दा बढी संक्रमित भेटिएका छन्।
नेपालमा पहिलो कोरोना भाइरसको संक्रमण चीनबाट आएका युवकमा गत माघ १० गते देखिएको थियो। त्यसयता क्रमिक रुपमा संक्रमण बढ्दै आएको छ। गत केही महिनादेखि यो क्रम झनझन बढेको छ।
सरकारले गरेको लामो लकडाउनमा पनि संक्रमण फैलिने क्रम तीव्र बनेको छ। जेठ मसान्तसम्म नेपालमा संक्रमितको संख्या पाँच हजार सात सय ७० रहेको थियो।
त्यसयता असारका १५ दिनमा सात हजार १२ संक्रमित थपिएका छन्। दैनिक चार सयदेखि ६ सयको हाराहारीमा संक्रमित थपिँदै गएका छन्।
सरकारले कोरोना परीक्षणको नयाँ मापदण्ड ल्याएसँगै स्वाबको नमुना संकलनको दर घटेको छ। यससँगै परीक्षणको दर पनि घटेको छ। सरकारले दिनको १० हजार जनाको परीक्षण गर्ने घोषणा गरेको थियो।
तर, अहिले जेठको भन्दा पनि परीक्षणको दर घटेको छ। परीक्षणको संख्या बढ्ने वितिक्कै संक्रमितको संख्या पनि बढ्ने विज्ञहरुको भनाइ छ। अहिलेसम्म दुई लाख तीन हजार ६७ नमुना परीक्षण गरिएको छ।











