बन्दाबन्दीमै पाए दुई सय १४ जनाले रोजगारी
बागलुङ, असार ८ : बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई सय १४ जनाले रोजगारी पाएका छन्।
कोरोना सन्त्रासक....
बागलुङ, असार ८ : बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई सय १४ जनाले रोजगारी पाएका छन्।
कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो।
सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ। बाहिरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रदान गरी विकास निर्माणका काम गरिएको नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिइन्। “१४ मध्ये केही वडामा कार्यक्रम सम्पन्न भइसकेको छ, केही वडामा अन्तिम चरणमा छ”, शर्माले भने, “नगरमा यो वर्ष २१४ जानले रोजगारी पाए, बन्दाबन्दीमै रोजगार पाउदा वेरोजगार भएकाहरुलाई राहत भएको छ।”
राहत वितरण भन्दा रोजगार कार्यक्रमअन्तर्गत सामाजिक दूरी कायम गरी काममा लगाउने निर्णयअनुसार रोजगारी दिइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए। नौ नम्बर वडाले पेश गरेको प्रस्तावना रोजगारी सिर्जना गर्न नमिलेको भन्दै अस्वीकृत भएको हो। नगरपालिकाको बेरोजगार सूचीमा दुई हजार ३५० जना सूचीकृत छन्। अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकता दिइएको छ। बन्दाबन्दीमा काम पाउँदा कामदारहरु हर्षित भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकालाई प्राप्त ३६ लाख २६ हजार रुपैयाँको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामग्रीमा खर्च गरिने कार्य विधिमा उल्लेख छ।