गोरखामा लोपोन्मुख तामे सालक फेला
गोरखा, जेठ २५ : गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ। स्थानीय होमप्रसाद रेग्मीको....
गोरखा, जेठ २५ : गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ। स्थानीय होमप्रसाद रेग्मीको घरमा बयस्क सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।
फेला परेको उक्त सालकलाई वन कार्यालयबाट गएको टोलीले उद्धार गरेको उनले बताए। “शनिबार फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने। सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ।
यसको अवैध सिकारसमेत हुने गरेको छ। सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको पाइन्छ। यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने उनले बताए। उद्वार गरिएको सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको उनले बताए।
यसअघि यही जेठ ५ गते पनि जिल्लाको पालुङटार नगरपालिका १० मिरकोट रहेको स्थानीय देउराली सामुदायिक वनमा मृतावस्थामा तामे सालक फेला परेको थियो। विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसंकटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने उनको भनाई छ।