चन्द्रागिरी नगरपालिकाद्वारा किसानलाई १० लाखको कृषि सामग्री वितरण
काठमाडौं, जेठ २३ : बन्दाबन्दीको समयमा कृषि क्षेत्रको विकास र विस्तारका लागि चन्द्रागिरी नगरपालिकाले किसानलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण....
काठमाडौं, जेठ २३ : बन्दाबन्दीको समयमा कृषि क्षेत्रको विकास र विस्तारका लागि चन्द्रागिरी नगरपालिकाले किसानलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ।
काठमाडौं उपत्यकाको प्रमुख द्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी रहेको बेलामा किसानलाई धान र तरकारीको बीउ वितरण गरेको हो। नगरपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद न्यौपानेले चन्द्रागिरिभित्र कृषि क्षेत्रको विकासका लागि किसानलाई धान र तरकारीको बीउ वितरण गरेको जानकारी दिए।
'धानको बीउ ५० प्रतिशत अनुदान र तरकारीको बीउ निःशुल्क वितरण गरेका छौँ”, उनले भने, “टाइचिन र खुमलटार मन्सुली धान तथा रामतोरिया, मेथी, चम्सुर, सुप, मुला, रायोको साग, धनियाँलगायतका तरकारी बीउ वितरण गरिएको हो।' उनले चार लाख ९९ हजार रुपैयाँ बराबरको तरकारीको बीउ निःशुल्क वितरण गर्नुका साथै पाँच लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको धानको बीउ उपलब्ध गराएको जानकारी दिए।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार बन्दाबन्दीको समयमा नगरपालिकाले बीउ खरिद गरेर किसानसम्म पुर्याउँदै आएको छ भने प्रत्येक वडामा ८० किसानलाई धानको बीउ उपलब्ध गराउँदै आएको छ। यसअघि नगरपालिकाले किसानका लागि हाते ट्र्याक्टर, कृषि औजारसमेत वितरण गरिसकेको छ।