Kathmandu Press

एनसेलको नाफा तीन अर्ब घट्यो

काठमाडौं, फागुन २९ : मुलुककै धेरै नाफा कमाउने कम्पनी एनसेलको आम्दानीमा गिरावट आएको छ । एनसेलले सार्वजनिक गरेको सन् २०१८ को वित्तिय प्रतिवेदनका अनुसार ....

एनसेलको नाफा तीन अर्ब घट्यो

काठमाडौं, फागुन २९ : मुलुककै धेरै नाफा कमाउने कम्पनी एनसेलको आम्दानीमा गिरावट आएको छ । एनसेलले सार्वजनिक गरेको सन् २०१८ को वित्तिय प्रतिवेदनका अनुसार नाफा घटेको हो ।

एनसेलले सन् २०१८ मा १५ अर्ब २८ करोड रुपियाँ खुद नाफा आर्जन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । जबकी सन् २०१७ मा कम्पनीको खुद नाफा १८ अर्ब ८७ करोड रुपियाँ थियो । कम्पनीको एक वर्षमै करिब तीन अर्ब ४० करोड नाफा घटेको छ ।

त्यस्तै, कम्पनीको नगद रकम सन् २०१७ को तुलनामा आधाभन्दा बढीले घटेको छ । सन् २०१७ मा ४१ अर्ब ४० करोड रुपियाँ नगद रहेकोमा सन् २०१८ मा घटेर जम्मा १८ अर्ब ४८ करोड रुपियाँ पुगेको छ ।

कम्पनीको ग्राहकबाट गर्ने औसत आम्दानी पनि घटेको छ । सन् २०१७ मा प्रति ग्राहक वार्षिक दुई सय ९८ रुपियाँ आर्जन गर्दै आएकोमा सन् २०१८ मा घटेर दुई सय ८६ रुपियाँ पुगेको छ । पोस्टपेड ग्राहकबाट हुने आम्दानी एक रुपियाँ घटेर चार सय ६० रुपियाँ पुगेको छ भने प्रति प्रिपेड ग्राहक आम्दानी दुई सय ७८ बाट घटेर दुई सय ७२ रुपियाँ पुगेको छ ।

कम्पनीका ग्राहकले वार्षिक औसत आठ सय १७ एमबी डेटा प्रयोग गर्ने पाइएको छ । जुन सन् २०१७ को तुलनामा एक एमबीले कम हो । कम्पनीका हाल एक करोड ६० लाख प्रिपेड र दुई लाख ६३ हजार पोस्टपेड गरी एक करोड ६३ लाख ग्राहक छन् ।

सन् २०१७ मा डेटाबाट प्राप्त आम्दानीमा १९ प्रतिशतको वृद्धिदर हासिल गरेको कम्पनीले सन् २०१८ मा उक्त शीर्षकको आम्दानी २३ प्रतिशतले बढाएको छ ।

एनसेलको आम्दानी र खुद नाफा दुवैमा कमी आएको छ । वार्षिक प्रतिवेदन अनुसार कम्पनीको आम्दानी सन् २०१८ मा ५७ अर्ब ४६ करोड रुपियाँ रहेको छ । यो आम्दानी सन् २०१७ को तुलनामा करिब ५९ करोड रुपियाँले कम हो । उक्त वर्ष कम्पनीको आम्दानी ५८ अर्ब पाँच करोड रुपियाँ थियो । आम्दानीको हिस्सा केही घटे पनि डेटाबाट हुने आम्दानीमा भने निरन्तर वृद्धि भइरहेको प्रतिवेदनले देखाएको छ ।

सन् २०१७ मा ७४ अर्ब १७ करोड खुद आम्दानी रहेकोमा सन् २०१८ मा घटेर ७१ अर्ब ११ करोड रुपियाँ पुगेको छ ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, फागुन २९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्