लकडाउनकाे समयमा पनि पूर्वाधार विकासका कामलाई निरन्तरता दिँदै महानगरपालिका
काठमाडौं, जेठ २२ : लकडाउनको समयमा पनि काठमाडौं महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिइरहेको छ।
काठमाडौं महानगर....

काठमाडौं, जेठ २२ : लकडाउनको समयमा पनि काठमाडौं महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिइरहेको छ।
काठमाडौं महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम थालिएको बताए। ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ उनले भने, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ। बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ।’
उनले जयबागेश्वरीको पुल दशैं भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए। ‘आर्थिक वर्ष २०७६/०७७ मा महानगरपालिका क्षेत्र भित्रका ६ स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माण गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘सोही अनुरुप अहिले चावहिल, जयबागेश्वरी र माइतीघर नजिक यस्ता पुल निर्माणको काम अघि बढाएका छौं।’
करिब एक करोड रुपैयाँ लागतमा निर्माणाधिन माइतीघर नजिकको पुल सकेसम्म असार मसान्ता भित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको उनले बताए। त्यस्तै ८२ लाख ६६ हजार रुपैयाँमा चावहिलको पुल निर्माणको काम पनि अघि बढेको छ।
‘आगामी दिनमा पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउन काठमाडौं महानगरपालिकाले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने नीति लिएको छ,’ उनले भने।
यहि आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपुल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन ओटा मात्रै योजना अघि बढेको उनले बताए। ‘हामीले यही आर्थिक वर्षमा चावहिल, जयबागेश्वरी, सिंहदरबार अघि, नयाँ बानेश्वर, कोटेश्वरलगायतका स्थानमा पुल निर्माण गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौं। कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ।’
उनले विभिन्न वडाका काम पनि लकडाउनको समयमा सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर निर्माण कार्य अघि बढाएको बताए। ‘वडा नं ७, १०, ११, १२, १३, १४,१६ लगायतका वडामा कालोपत्रे गर्ने बाहेक व्लक छाप्ने, ढलान गर्ने, ढल निर्माण गर्ने, वडा कार्यालय भवन निर्माण गर्ने जस्ता भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘कालोपत्रे गर्ने श्रमिकहरु बढी मात्रामा तराइका हुने भएकाले लकडाउनकाे कारण उनीहरु आउन नपाएकाेले कालोपत्रे गर्ने काम भने अघि बढाउन सकेका छैनौं।’
करीब २ सय करोड रुपैयाँका आयोजनाहरु चालु अवस्थामा रहेको उनले जनाकारी दिए। ‘गत वर्षका आयोजना सम्पन्न गर्ने र चालु आर्थिक वर्षका कामलाई पनि निरन्तरता दिने योजना छ,’ उनले भने, ‘कोरोना संक्रमणको जोखिमको कारण मुलुकमा जारी लकडाउनले गर्दा कतिपय काम अघि बढाउन कठिनाइ भइरहेको छ। तर, पनि कतिपय काम हामीले अघि बढाएका छौं।’
उनले महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि निरन्तरता दिएको जानकारी दिए।
महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका बिरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ।
काठमाडौं महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ जारी गरिसकेको छ। बन्दाबन्दी लम्बिदै गएको खण्डमा श्रममा आधारित पारिश्रमिकको व्यवस्थाका लागि कार्यविधि नै जारी गरेको महानगरपालिकाले त्यस्ता श्रमिकहरुलाई सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत–सम्हार, ढल निर्माण तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौदर्यीकरण, फाहोर–मैला व्यवस्थापन जस्ता काममा लगाउने तयारी गरेको छ।










