Kathmandu Press

केन्द्रीय समिति प्रवेशको दाबेदारीमा काँग्रेसका ६ चर्चित युवा

यसपटक कांग्रेस महाधिवेशनमा देशैभरबाट युवाहरुको ठूलो सङ्ख्या महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौं आएका छन् ।
केन्द्रीय समिति प्रवेशको दाबेदारीमा काँग्रेसका ६ चर्चित युवा

काठमाडौं, असाेज१८ : बदलिएको राजनीतिक परिवेश र दलभित्रकै अन्तरविरोधबिच नेपाली काँग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । महाधिवेशनमार्फत कांग्रेस हाक्ने नयाँ नेतृत्वमात्र चयन हुने छैन, मुलुककै सबैभन्दा पुरानो र लोकतान्त्रिक दलले अब लिने राजनीतिक एजेण्डा पनि तय हुनेछ ।

यसबाहेक कांग्रेस सबैभन्दा धेरै चर्चाको विषय बनेको छ युवाको बाक्लो उपस्थिति । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि नेपाली राजनीतिमा उदाएको युवापुस्ताको आकर्षणलाई काँग्रेस महाधिवेशनमा विशेष चासोको विषय बनेको छ ।  

यसपटक कांग्रेस महाधिवेशनमा देशैभरबाट युवाहरुको ठूलो सङ्ख्या महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौं आएका छन् ।

सबैभन्दा ‘बुढो’ पार्टीमा करिब चालिस प्रतिशत युवाको उपस्थितिले काँग्रेसको आन्तरिक जीवनलाई भने जवान बनाउने अपेक्षा गरिएको छ । काँग्रेसभित्रको युवाको यस्तो आकर्षण बढाउन सभापति गगन थापामात्र नभएर केही प्रभावशाली नयाँ र युवा नेतृत्वको भूमिका पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।

जसले काँग्रेसको भविष्यमात्र होइन, वर्तमानमा राजनीतिप्रति आशा जगाइरहेका छन् । महाधिवेशनमार्फत यो पुस्ता आफूलाई केन्द्रिय समितिमा प्रवेश गराएर पार्टी सुधारका आन्तरिक विषयमा पनि हस्तक्षेप गर्न खोजीरहेका छन् ।

त्यस्तैमध्येका एक पात्र हुन्, इलामका निस्कल राई । देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउँदा समेत इलाम–१ बाट प्रत्यक्ष निर्वाचित राई अहिलेको प्रतिनिधि सभामा प्रभावशाली उपस्थिति देखाइरहेका छन् ।

उनले पहिलोपटक संसद यात्रामै दलको सचेतको भूमिकाको जिम्मेवारी समेत पाए । राईले संसदमा प्रस्तुत गर्ने तर्क र विषयले उनी छोटो समयमै राजनीतिमा नमेटिने छाप बनाईसकेका छन् । संसदमा उनले काँग्रेस मात्र नभएर बलियो प्रतिपक्षीको भूमिका पनि निर्वाह गरिरहेका छन् । यीनै राई नयाँ बन्ने कांग्रेस केन्द्रिय कार्यसमितिमा केन्द्रिय सदस्यका बलियो दाबेदार पनि हुन् ।

विरगञ्जका कन्चन झा पनि काँग्रेसमा उदाएका नयाँ पुस्ताका अर्का नेता हुन् । खासगरी काँग्रेस पार्टी कार्यालयभित्र युवापुस्तालाई जोड्न नयाँ विषय र मुद्धामा बहस चलाइरहेका झा महाधिवेशनको तयारीमा पनि खटिइरहेका छन् ।

बौद्धिक र तार्किक प्रस्तुतीले झालाई भविष्यमा मधेशमा काँग्रेसको जिम्मेवारी सम्हाल्नसक्ने व्यक्तिका रुपमा आँकलन पनि गरिन्छ । झा पनि यसपटक केन्द्रिय समितिमा प्रवेश गर्ने तयारीमा छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकार हो । जसको नेतृत्व सम्हालेका छन्, काँग्रेसका युवा नेता प्रकाश तिवारी ।

सबैभन्दा कान्छा गाउँपालिका अध्यक्ष मध्येका तिवारी व्यावसायिक पृष्ठभूमिसहितका व्यक्ति पनि हुन् । स्टार्टअप, इन्नोभेसन र लगानी सम्बन्धि कम्पनीमा नेतृत्व दिइसकेका तिवारी राजनीतिको अध्ययन र विश्लेषणमा उत्तिकै सक्रिय छन् । तिवारीले पनि यसपटक आफूलाई केन्द्रिय सदस्यको रुपमा उभ्याएका छन् ।

तिवारीले पालिका सुधारका लागि नविनतम कार्य अगाडी बढाएका छन् । पालिकालाई पर्यटनको हबका रुपमा बिकसित गर्नका लागि नेपालकै पहिलो नवग्रह मन्दिरको स्थापना समेत उनकै परिकल्पनामा निर्माण भएको थियो ।  

गण्डकी प्रदेशको तनहुँकी एलिजा ढकालले नेपाली कांग्रेसको विशेष महाधिवेसन अभियानलाई सफल बनाउन सक्रिय सहभागितामात्र जनाइनन् पार्टीको रुपान्तरण, पुनर्जागरण र आकर्षणका निम्ति देशव्यापी संवाद यात्रामा तत्कालिन महामन्त्री र हालका सभापति गगन थापासँगै सहभागी पनि भईन् ।

नेपाली कांग्रेस, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा जातीय भेदभाव विरुद्ध सचेतना उपसमितिमा रहेर काम गरेको अनुभव पनि छ । युवाको ऊर्जालाई अग्रजको अनुभवसँग जोड्नका लागि पुस्ताबीचमा फाटो होइन, सहकार्य र सहास्तित्वको बाटो जरुरि हुन्छ भन्ने मूल मन्त्रसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको नेतृत्व गरिरहेकी धनकुटाकी करुणा कटवाल बदलिँदो काँग्रसको प्रतिनिधि पात्र हुन् । २७ वर्षमै काँग्रेसको प्रभावशाली सङ्गठनलाई नेतृत्व दिइरहेकी कटुवाल राजनीतिक गर्न चाहने युवाका लागि एउटा उदाहरण पनि हुन् ।

यीनै कटुवाल युवापुस्ताको नेतृत्व गर्दै कांग्रेसकोको केन्द्रिय समितिमा आउने योजनामा जुटेकी छन् ।

कांग्रेसलाई नयाँ पुस्ताकासँग जोड्ने बैतडीकी भूपी ऐर विद्यार्थी नेता हुन् । पद्यकन्या क्याम्पसमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सभापति निर्वाचित ऐर विद्यार्थीमाझ मात्र होइन काँग्रेसभित्रै पनि विस्तारै प्रभाव बढाउँदै छिन् । परिवर्तनलाई बुझेकी ऐर यसपटक कांग्रेसको कार्यसमितिमा प्रवेश गर्ने तयारीमा छिन् ।

प्रकाशित मिति: ०७:४२ बजे, आइतबार, असोज १८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्