Kathmandu Press

तीन दिनमा सवा १० करोडको कारोबार

काठमाडौं, फागुन २८ : राजधानीमा चलिरहेको १५औं ‘नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ मा सवा १० क....

तीन दिनमा सवा १० करोडको कारोबार

काठमाडौं, फागुन २८ : राजधानीमा चलिरहेको १५औं ‘नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ मा सवा १० करोड बराबरको कारोबार भएको छ । मेलामा एक लाख ८७ हजार जनाले अवलोकन गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको मेलामा पहिलो २० हजारले अवलोकन तथा सवा करोडको कारोबार भएको थियो भने शुक्रबार ५० हजारले अवलोकन गर्दा चार करोड रुपियाँको कारोबार भएको थियो।

त्यस्तै, शनिबार एक लाख १७ हजारले अवलोकन गरेका थिए भने ६ करोड रुपियाँ बराबरको कारोबार भएको थियो।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले शुरु भएको मेला आगामी मंगलबारसम्म चल्ने छ।

यसमा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मेलाको उद्घाटन गरेकी थिइन् । यसमा प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बहाम्के, राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, पूर्वमन्त्री, पूर्वप्रधान सेनापति, सरकारी तथा गैरसरकारी निकायका व्यक्तिहरूले अवलोकन गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ ०५८ देखि नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए।

मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको उल्लेख गर्दै उनले भने, ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापारघाटा पूर्ति गर्नसक्ने अवस्था छैन । त्यसैले स्वदेशी उत्पादनको उपयोगबाट मात्र यसलाई कम गर्न सक्छौं।’

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गरेको थियो।

मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए।

पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको छ । त्यस्तै, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन् । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, फागुन २८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्