Kathmandu Press

एनआईएमबी बैंकका अध्यक्ष पाँडेलाई ४० लाख धरौटीमा रिहा 

ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एनआईएमबी बैंकका अध्यक्ष पाँडेलाई ४० लाख धरौटीमा रिहा 

काठमाडौं, भदौं २३ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा भएका हुन् । उनीविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर भएको थियो । अदालतमा पाँडेले दिएको बयानअनुसार स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण रकम भुक्तानी नगरेपछि बैंकले कर्जा असुलीका लागि धितोमा रहेको स्मार्ट टेलिकमको सामान कानुनीप्रक्रिया अनुसार नै लिलाम गरेको हो ।

पाँडेले अदालतमा बयान दिँदै आफूले स्मार्ट टेलिकमको सामान व्यक्तिगत रूपमा कब्जा वा दुरुपयोग नगरेको, बैंकको लिनुपर्ने रकम असुलीका लागि लिलाम प्रक्रियामार्फत रकम असुल गरिएको बताएका छन् । अदालतको आदेशमा समेत पाँडेले स्मार्ट टेलिकमको सामान लिलाम गरी बैंकको लेना रकम असुल गरेको भनी बयान दिएको उल्लेख छ ।

यस प्रकरणमा मुख्य विवाद नै बैंकले ऋण असुलीका लागि धितोमा रहेको सम्पत्ति लिलाम गरेको प्रक्रियालाई आपराधिक कसुरका रूपमा व्याख्या गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा केन्द्रित देखिन्छ । बैंकिङ कारोबारमा ऋण प्रवाह गर्दा कर्जा सुरक्षणका लागि लिइएको धितोबाट बक्यौता असुल गर्ने प्रक्रिया प्रचलित बैंकिङ अभ्यास हो । स्मार्ट टेलिकमको हकमा पनि बैंकले आफ्नो कर्जा असुल गर्न धितोमा रहेको उपकरण तथा सामान लिलाम गरेको एनआईएमबीको पक्षको दाबी छ ।

अर्थात्, विवादको केन्द्रमा रहेको लिलामी पाँडेको व्यक्तिगत निर्णय वा व्यक्तिगत लाभका लागि गरिएको कारोबार नभई बैंकको बक्यौता कर्जा असुलीसँग सम्बन्धित रहेको उनको बयानबाट प्रष्ट देखिन्छ ।
 

प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, भदौ २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्