बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय सेवा दलका क्याडेट सक्रिय
काठमाडौं, भदौ १५ : हालैको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवन र धादिङ लगायतका क्षेत्रमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (NCC) बाट तालिमप्राप्त क्याडेटहरू उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालित भएका छन्।
विपद्का कारण जनजीवन प्रभावित भएका क्षेत्रमा पुगेर क्याडेटहरूले उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग गरिरहेका छन्। नेपाली सेनाका सुरक्षाकर्मी तथा स्थानीय तहसँग समन्वय गर्दै क्याडेटहरूले विपद्को कठिन परिस्थितिमा मानवीय सेवामा योगदान दिइरहेका छन्।
राष्ट्रिय सेवा दलबाट प्राप्त अनुशासन, नेतृत्व, विपद् व्यवस्थापन तथा स्वयंसेवी सेवासम्बन्धी तालिमलाई व्यवहारमा उतार्दै क्याडेटहरू जोखिमपूर्ण अवस्थामा समेत प्रभावित समुदायको साथमा उभिएका छन्।
बाढीले ठूलो क्षति पुर्याएका रसुवा, नुवाकोट र धादिङमा युवाशक्तिको यस्तो सक्रिय सहभागिताले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ। विपद्का बेला राष्ट्र र नागरिकको सेवामा खटिएका क्याडेटहरूको यो प्रयासले ‘सेवा नै धर्म हो’ भन्ने राष्ट्रिय सेवा दलको भावना पनि थप उजागर गरेको छ।











