भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। तिमुरेमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ। उनीहरूसँग समेत सञ्चार सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।
काठमाडौं, भदाै ११ : भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढीपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ भने कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ।
निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी रहेको बताइएको छ। आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना तथा परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ।
उक्त आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना तथा विद्युतगृह क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको बताइएको छ। आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको खबर आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन छन्। तिमुरेमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ। उनीहरूसँग समेत सञ्चार सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकोप्टर व्यवस्थापन गरी स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको छ।
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन भएका छन्। अन्य पाँच जना नजिकैको गाउँमा शरण लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली रहेको तथा उद्धारको पर्खाइमा रहेको बताइएको छ। उनीहरूको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ।
यसैगरी, २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा बुधबार सुरुङमा थुनिएपछि सम्पर्कविहीन भएका ६० जनासँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। सम्पर्कविहीन हुनेमा २५ जना स्टाफ र ३५ जना कामदार छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।
लाङटाङ खोला आयोजनास्थलमा विकासकर्ता कम्पनीका प्रतिनिधिहरू पुगेर उद्धारको प्रयास अघि बढाए पनि हालसम्म हेलिकोप्टरको व्यवस्था हुन नसकेको बताइएको छ।
बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा प्रभावित आयोजनामा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।











