Kathmandu Press

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारी, सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको सड्क विभागले जनाएको छ।
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि परीक्षण सञ्चालन सुरु

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो।

पहिलो चरणमा कार, जीप र भ्यानसहित ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारी, सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपत्कालीन सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको सड्क विभागले जनाएको छ।

सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गर्दै एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी गरिएको विभागले जनाएको छ । त्यसपछि सञ्चालन समय बिहान ७ बजेदेखि राति ८ बजेसम्म विस्तार गर्ने र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पु¥याउने योजना रहेको छ।

नागढुंगा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे खण्डको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा यात्रु र मालवाहक यातायातलाई सहज हुने अपेक्षा गरिएको छ।

करीब २४ अर्ब रूपैयाँ खर्चिएर तयार भएको सुरुङ मार्गको गत साउन ११ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्घाटन गरेका थिए। उनले उद्घाटन गरेसँगै नेपाल सुरुङ मार्गको युगमा प्रवेश गरेको थियो। त्यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। 

४२ महीनामा सम्पन्न गर्ने गरी सरकारले सुरूङमार्ग बनाउने जिम्मा जापानको हाज्मा÷आन्दो जेभीलाई दिएको थियो । तर सोही वर्ष देखिएको कोरोना महामारी, जग्गाको मुआब्जा विवाद, खानेपानीलगायत विषयमा स्थानीयसँग भएको समस्याजस्ता कारणले आयोजनाको म्याद चार पटकसम्म थपिएको थियो। जसले गर्दा यो आयोजना झन्डै ७ वर्षमा तयार भएको छ।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, भदौ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्